प्रेरक प्रसंग : भगवानले यसरी महिला बनाएका रहेछन्
काठमाडौं – ईश्वरले पुरुष बनाए । ऊ एक्लै थियो । उसलाई रमाइलो लागेन । त्यसैले आफू एक्लो भएको भन्दै ईश्वरसँग गुनासो गर्यो । एक्लै भएका कारण आफ्नो मन पनि एक्लो भएको बतायो । ईश्वरले महिला बनाउने इच्छा गरे । सबै काम पूरा भइसकेको थियो ।
ईश्वरले पूरै बनावट पूरा गरिसकेका थिए । सबै चिज बनाउने क्रममा कुनै पनि सामान बचेको थिएन । त्यसैले युवती बनाउनका लागि उनले कैंयौं ठाउँहरुबाट सामान लिए– थोरै चन्द्रमाबाट लिए । अलिकति सूर्यबाट लिए । थोरै रंगबाट लिए । अलिकति सिंहबाट लिए । यसरी चारैतिरबाट सामान जम्मा गरेर उनले महिला बनाए ।
ईश्वरको सबै काम पूरा भइसकेको थियो । उनले पुरुष बनाइसकेका थिए । त्यही बेला एक सज्जनले ईश्वरसँग आफू एक्लो भएको बताएको थियो । त्यसैले ईश्वरले महिला बनाए ।
महिला त बनाए तर ऊ अचम्मको स्वभाव भएकी थिई । ऊ कहिले गीत गाउँथी, कोइलीको जस्तै । कहिले सिंहलेझैं गर्जन्थी । कहिले चन्द्रमाजस्तै शीतल देखिन्थी । कहिले सूर्यजस्तै तातिन्थी ।
तीन दिनमै महिलादेखि पुरुष थाक्यो । उसलाई महिला समस्या झैं लाग्यो । त्यसभन्दा त बरु एक्लै ठीक थियो भन्ने उनले सोच्यो । तीन दिनसम्म महिलासँग बसेपछि उसले एकान्तमै आनन्द आउने बुझ्यो ।
बिनायुवती एकान्तको रमाइलो थाहै हुँदैन । ब्रह्मचर्यको आनन्द गृहस्थ नभई बुझ्नै सकिदैन ।
पुरुषले ईश्वरलाई भेटेर भन्यो–‘क्षमा गर्नुहोस् म बाट भूल भयो । मैले गलत कुरा मागेँ । तपाई महिलालाई फिर्ता लिनुहोस् । मलाई चाहिदैन । उसले त मलाई पागल बनाइदिनेछे ।
ऊ विश्वास गर्न योग्य छैन । कहिले गाउँछे । कहिले क्रोधित हुन्छे कुन बेला बदलिन्छे थाहै हुँदैन । तर्कै गर्न नसकिने खालको व्यवहार देखाउँछे । तपाइँ नै उसलाई सम्हाल्नुहोस् ।’
ईश्वरले उसको व्यवहार स्वीकार गरे । यसले महिलालाई ईश्वरकहाँ छाडिदियो र घर फर्कियो । ओछ्यानमा पुगेपछि उसलाई महिलाको याद आउन थाल्यो । उसको मधुर गीत ऊ सँगको अंगालो । उसका सुन्दर आँखा ।
तीन दिनपछि ऊ इश्वरकहाँ पुग्यो । उसले भन्यो–‘ईश्वर ! मलाई क्षमा गर्नुहोस् । ती महिला मलाई फिर्ता दिनुहोस् । ऊ सुन्दर थिई । गीत गाउँथी अब त म एक्लो भए । सबै चीज उदास जस्तो लाग्न थाल्यो । जब दाउरा काटेर या जनावर मारेर थाकेर जंगलबाट फर्कन्छु कसैले स्वागत गर्दैन । ऊ घरमा हुँदा चिया तयार गरेर राख्थी । मलाई भेट्न ढोकामै आउथी । मेरो प्रतिक्षा गर्थी । अब त म उदास हुन थालेको छु । क्षमा गर्नुहोस् म बाट ठुलो भुल भयो । ऊ मलाइ फिर्ता दिनुहोस् ।’
ईश्वरले भने–‘तिम्रै इच्छाअनुसार हुनेछ ।’ तीन दिनमा फेरि अवस्था बिग्रियो । तीन दिनपछि ऊ ईश्वरकहाँ पुग्यो र महिला फिर्ता लैजान गुनासो गर्यो ।
ईश्वरले उनलाई गाली गरे–‘बेकारको कुरा नगर । तिमी त न महिला बिना रहन सक्छौ न ऊ सँग बस्न सक्छौ त्यसैले जसरी हुन्छ तिमीले उसैसँग जीवन बिताऊ ।’
त्यस बेलादेखि पुरुषले जसरी हुन्छ महिलासँग जीवन गुजारिरहेको छ ।
तपाई यदि बजारमा हुनुहुन्छ भने आश्रम राम्रो लाग्छ । यदि तपाइँ आश्रममा हुनुहुन्छ भने बजारको याद आउँछ ।
संसारमा सुख र दुःख मिश्रित छन् । यहाँ चन्द्रमा पनि छन् र सूर्य पनि छ यहाँ पंक्षीले नाच्छन् र सिंह पनि गर्जिन्छ । त्यसैले अब तपाइँ संसारमा उपस्थित हुनुहन्छ त्यसबेला तपाइँले दुःखै–दुःखै देख्नुहुन्छ । भित्रैबाट दुःख निस्केर आउँछ । जब तपाइँ टाढा पुग्नुहुन्छ सबै सुख याद आउँछन् ।