प्रेरक प्रसंगः विचार नगरी दिनुहोस्

सोमबार, ७ पौस २०७६

काठमाडौं–ओशोका एक जना प्रोफेसर साथी थिए । उनको ओशोमाथि धेरै आकर्षण थियो । उनी ओशोलाई आफ्नो घरमा बोलाउन डराउँथे । रक्सी पिउने उनको बानी थियो । त्यो कुरा थाहा पाए आफ्नो इज्जतमा आँच आउने कुरादेखि उनी डराएका थिए ।

एक दिन ओशो बिरामी परे । ती प्रोफेसरले ओशोलाई होस्टलबाट उनको घरमा लान पयो । ओशो दुई महिनाजति उनकै घरमा बसे । त्यस समयमा उनलाई पिउन गाह्रो भयो । पाँच दश दिनपछि उनको अवस्था नाजुक हुँदै गयो ।

ओशोले ती साथीसँग भने–‘ तपाइँलाई गाह्रो भइरहेको छ जस्तो लागिरहेको छ यदि मेरो कारणले गाह्रो भइरहेको छ भने म यहाँबाट जान्छु । खुलस्त भन्नुहोला ।’
उनले आफ्नो चिन्ताको कारण खुलाए–‘ मेरो पिउने बानी छ त्यसैले अप्ठ्यारो लागेको हो ।’

ओशोले भने–‘ किन अप्ठ्यारो मान्नुपयो ? तपाइँले लुकेर पिउनुभएको भए पनि हुनथ्यो । यत्रो ठुलो घर छ ।’
उनले भने–‘ यही त गाह्रो छ साँचेको रक्सी पिउनेले एक्लै रक्सी पिउनै सक्दैन । कोही साथीहरुलाई बोलाइन भने पिउनै सक्दिन । एक्लै पनि के पिउनु ? पिउनु त एउटा उत्सव हो ।’

जब मानिसले सामान्य मदिरा त मानिसहरुले बाँडेर पिउछन् भने यदि तपाइँको पात्रमा परमात्मा भरिन्छ भने तपाइँले किन नबाँड्ने ! जब मदिरा सेवन गर्नेलाई समेत एक्लै पिउनुमा मजा हुँदैन भन्ने थाहा हुन्छ र उनीहरु यसरी होसपूर्ण हुँदै बाँडेर पिउछन् भने होस भएकाहरुको त के कुरा गर्ने ?

बाँड्नुहोस् ! शक्तिको आविर्भाव यदि भएको छ भने लुटाउनुहोस् । कसलाई दिइरहेको छु भनेर पनि नसोध्नुहोस् । यसरी सोध्नु त कन्जुस्याइहरुको भाषा हो । पात्रको चिन्ता त्यसैले गर्छ जो कन्जुस हुन्छ ।

उसले सोध्छ–‘कसलाई दिने ? पात्र छ कि छैन ?’ दुई पैसा दिन्छ तर उसले यो पैसा के गर्नेछ भनेर सोध्छ । त्यस्तो पनि कुनै दान भयो र ? यस्तो दान त नदिनु नै वेश । यदि सोचविचार गरेर दिनुभएको छ भने तपाइँले दान नै दिनुभएको हुँदैन ।