जनता झुक्याउँदै ग्लोवल आइएमइ बैंक, ठुलो समस्या निम्तिने खतरा !

मंगलबार, ८ पौस २०७६

काठमाडौं – ग्लोवल आइएमई बैंकले औपचारिकताका नाममा जनतालाई भुक्याउने गरेको छ । बैंकले आफ्नो फाइदाका लागि जनतालाई दिनुपर्ने सुचना नदिई एक औपचारिकताका लागि मात्र सुचना प्रकाशन गर्ने गरेको छ ।

बैकले खातावालाको मृत्यु भएको खण्डमा खाता खोल्दा हकवाला नराखिएको भए तथा थप अरु कोही हकवाला भए उनीहरुको पहिचान, प्रमाणिकरण तथा हकदाविका लागि राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशन गरि दावि/विरोध गर्न पाउने प्रावधान अनुसार सुचना प्रकाशन गर्दा औपचारिकता मात्र अपनाउने गरेको छ । सुचना दिनु भनेको सम्बन्धित सबैमा जनाकारी पुर्याउनु हो तर बैंकले सम्बन्धित ठाउँ वा व्यक्तिलाई सुचना नदिई औपचारिकतामा मात्र सिमित गर्ने गरेको पाइएको छ ।

पुष ८ गते एक दैनिक पत्रिकामा ३५ दिने सुचना प्रकाशन गरेर बैंकले दुनियाँ हँसाएको छ । घटना हो, कालिकोट जिल्ला रास्कोट नगरपालिका स्थित ग्लोवल आइएमई बैंकको शाखाले निकाले सुचना । बैंकले कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर २ निवासी स्वर्गीय महोन विर बमले रास्कोटमा रहेको ग्लोवल आइएमई बैंकको शाखामा खाता खोले । उनले खोलेको खातामा हकवालाको विवरण राखिएको रहेनछ । उनको मृत्यु भएपछि छोरा हर्ष बहादुर बमले बुवाको नाममा रहेको खाताबाट पैसा निकाल्नका लागि बैंकमा दावि गरे । तर बैंकले पैसा निकाल्न कानुनी प्रक्रिया मिलाउन पर्ने भन्दै रोकिदियो ।

मृतक बमले आफ्नो हकवाला कोही नराखेका कारण उनका छोराले पैसा निकाल्न पाएनन् । उनको पैसा दिलाइदिनका लागि बैंकले कानुनी प्रक्रिया अगाढी बढायो । कानुनी प्रक्रिया अनुसार बैंकको शाखाले केन्द्रीय कार्यलयमा सुचना छाप्नका लागि आग्रह गर्यो । सोही आग्रह अनुसार बैंंकले एक आर्थिक दैनिकमा सुचना निकाल्यो ।

सुचना छापिएको छ भनेर जानकारी मात्र पाएका बमले उक्त सुचना हेर्न पाएनन् । उनले त हेर्न पाएनन् /पाएनन् उनका हकदारहरु भएको भए झन कसरी सुचना थाहा पाउलान् ? बमका अरु कोही अंशियार भएको खण्डमा तथा अंशियारले सुचनाको जानकारी पाएनन् र निवेदकले पैसा लिएर गए भने के हुन्छ ? पैसा दावि गर्न बैंकमा आए भने के हुन्छ ? यसको जवाफ बैंकले दिन जरुरी छ । यदी साँचै कसैले गलत नियतका साथ बुवाको सम्पति एकलौटी कुम्ल्याउन खोजेको हो भने यसको जिम्मेवारी को हुन्छ ? यस्तो थुपै्र प्रश्नहरु यो सुचनाले निम्त्याएको छ ।

ग्लोवल आइएमई बैंकको शाखा कार्यलयको आग्रहमा केन्द्रीय कार्यलयले प्रकाशन गरेको उक्त सुचना सम्बन्धित पक्षले नपाएपछि बैंक आफै उक्त सुचना लिई घरघरमा जाने बैंकले जनाएको छ । कालिकोट जिल्लासँग कुनैपनि साइनोे नभएको एक दैनिक पत्रिकामा विज्ञापन छापेर इमेलको सहायताले सम्बन्धित व्यक्तिसँग उक्त सुचना पुर्याइने रास्कोट स्थित बैकको भनाई छ ।

उक्त सुचना इमेल मार्फत बैंकको शाखामा पुग्ने र बैंकले नगरपालिकाको सहयोगमा सम्बन्धित व्यक्तिसम्म पुर्याउने बैंकका शाखा प्रबन्धक दिनेश भण्डारीले बताए । यसरी इमेलको सहायताले बैंकले नै सम्बन्धित व्यक्तिको ठेगानामा पुर्याउनु भन्दा त्यहाँकै स्थानिय दैनिक पत्रिकामा सुचना प्रकाशित गरेको भए थोरै खर्चमा सम्बन्धित व्यक्तिले सुचना पाउने थिए होला । बैंकले आफ्नो स्वार्थपुर्तिका लागि काठमाडौंको पत्रिकामा सुचना प्रकाशन गरेर जनतालाई सुचनाको पहुँचबाट टाढा राखेको छ ।

यसरी हेर्दा बैंकले आफ्नो अनुकुलताका लागि खर्च बचाउँन एउटा दैनिक पत्रिकामा विज्ञापन छापेर सुचना लुकाउने सड्यन्त्र गरेको बुझ्न सकिन्छ ।