नेकपामा सभामुखको टुङ्गो नलागेपछि सर्‍यो प्रतिनिधिसभा बैठक

शुक्रबार, ११ पौस २०७६

काठमाडौ‌ं –सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको टुंगो नलगाएपछि शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठकमा सभामुख निर्वाचनको कार्यतालिका तय गर्ने सम्भावित कार्यसूची थियो ।

नेकपाले उम्मेदवारकै टुंगो नलगाएपछि निर्वाचन कार्यतालिकाका लागि बोलाइएको बैठक सूचना टाँसेर पुस १६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबारै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने र प्रतिनिधिसभा बैठकको अध्यक्षता प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले गर्ने तयारी भनिए पनि बैठक उपसभामुख तुम्बाहाङ्फेको राजीनामा पनि आएको छैन ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ । सभामुख पदमा नेकपाले आफ्नो दाबेदारीका लागि उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाएको छ । तर, सभामुख पदमा कसैको पनि नाम टुंगो नलागेका कारण उपसभामुख तुम्बाहाङ्फेले राजीनामा बुझाएकी छैनन् ।

नेकपा सचिवालयले सभामुखको टुंगो लगाउने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । बिहीबार सभामुखको उम्मेदवार टुंगो लगाउने भनिए पनि अध्यक्ष प्रचण्ड चितवन गएकाले छलफल हुन पाएन । उनी आज चितवनबाट फर्किएपछि दुई अध्यक्षबीच छलफल हुनसक्ने बताइएको छ ।

प्रचण्डमाथि पूर्वमाओवादीबाट सभामुख पद छोड्न नहुने दबाब छ । त्यसो हुँदा नेता अग्नि सापकोटालाई बलियो दाबेदारका रुपमा हेरिएको छ । अध्यक्ष ओलीसहितका पूर्वएमालेहरु भने पार्टी एकीकरणपछि पनि भागवण्डा खोज्न नहुने भन्दै संसदीय प्रक्रियाका अनुभवी सुवास नेम्बाङलाई सभामुख बनाउनुपर्ने अडानमा छन् ।