शक्तिशाली बम विस्फोट हुँदा ७६ जनाको मृत्यु, ९० घाइते

आइतबार, १३ पौस २०७६

काठमाडौं – शक्तिशाली बम विस्फोट हुँदा ७६ जनाको मृत्यु भएको छ । यो अवर सोमालियाको हो । कार बम विस्फोट हुँदा पनि कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् ।

बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू नजिकै विस्फोट भएको थियो । सोमालियाका विदेश मन्त्री अहमद अवाडले ट्विट गर्दै मारिनेमध्ये दुई टर्किस इन्जिनियर रहेको जनाएका छन् ।

सोमालियामा भोकमरी सुरु भएदेखि टर्की त्यहाँको मुख्य दाता हो । उसले भोकमरी सुरु भएको सन् २०११ देखि नै सहयोग बढाउँदै आइरहेको छ । आक्रमणकारीको निसानामा विद्यार्थीसमेत परेका छन् । बसमा यात्रा गरिरहेका बन्दिर युनिभर्सिटीका कम्तीमा १६ विद्यार्थी बम विस्फोटको शिकार बनेको एएफपीले जनाएको छ ।

बिस्फोटमा घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या ७६ बाट बढ्ने अनुमान गरिएको छ ।