प्रेरक प्रसंग : महाकश्यपले नबोलिकन सोधेको प्रश्नको उत्तर बुद्धले पनि नबोलि दिए, तर कसरी ?

शनिबार, १९ पौस २०७६

काठमाडौं–एक झेन फकीर थिए । एकपटक उनी शिष्यहरुसँगै बसेका थिए । नजिकै पानीले भरिएको एउटा भाँडो थियो ।
उनले पानीको भाँडोतर्फ इशारा गर्दै आफ्ना शिष्यहरुसँग सोधे–‘ केही पनि नबोलिकन भन यो के हो ? आवाज ननिकाली यसका बारेमा बक्तव्य देऊ । कृत्यबाट घोषित गर ।’

जसरी महाकश्यपले उत्तर दिएका थिए हाँसेर । जब कृत्यबाट महाकश्यपले घोषणा गरे बुद्धले पनि कृत्यबाटै उत्तर दिए । उनलाई महाकश्यपले फूल दिए । फकीरले भने–‘ आज म पनि तिमीहरुलाई फूल दिन उत्सुक छु ।’

शिष्यहरुले फकीरतर्फ हेर्न थाले । फकीरको हातमा फूल थिएन । उनीहरु सोच्न थाले–‘ अझै गाह्रो हुने भयो उत्तर दिन । गुरुको हातमा फूल त छैन ।’ उनीहरुले गुरुको उत्तर दिनेबारेमा लाखौं विचार गरे । कसैले पनि नबोली उत्तर दिन सकेनन् ।

भोजनको समय हुनै लागेको थियो । सबैलाई सूचना दिनका लागि भान्से आइपुगे । उनी भिक्षू नै थिए तर भान्सामा काम गर्थे । उनले सबै शिष्यहरुलाई उदास भएर बसेका देखे । चिन्तनमा मग्न भएका देखे ।
उनले सोधे–‘के भयो ? किन सबै उदास छन् ?’

फकीरले भने–‘ एउटा प्रश्नमा सबै अल्झिएका छन् । सबै भिक्षू पानीले भरिएको भाँडोको बारेमा नबोलिकन बक्तव्य दिनेबारेमा सोचिरहेका छन् । उनीहरुले कुनै यस्तो वक्तव्य दिनुपर्नेछ जसले पुरै रहस्यलाई प्रकट गर्न सकोस् । जसले यस प्रश्नको उत्तर दिनेछ म उसलाई फूल दिन तयार छु ।’ भान्सेले गुरुको हातमा हेर्दे हेरेनन् । त्यहाँ फूल छ कि छैन भनेर विचारै गरेनन् ।

गुरु ने फूल हुन् । हेर्नुपर्ने आवश्यकतानै के थियो र ? भान्सेले एक गिलास हिर्काएर त्यस भाँडोलाई ढलाइदिए । पानी पोखिएर बग्न थाल्यो ।
उनले भने–‘ अब उठ सबै । यस्तो व्यर्थै प्रश्नमा अल्झेका छौ भोजनको समय भइसक्यो ।’ भान्सेले रहस्य प्रकट गरिदिए । अस्तित्वलाई यस्तै गरेर बताउन सकिन्छ । उनले भाँडो फल्टाइदिए । पानी पोखिएर बग्यो ।

यस्तै हजारौं घटनाहरु छन् झेन परम्परामा । एउटा घटनालाई अर्कोपटक दोहोर्‍याउन सकिँदैन । दोहोर्‍याउनुको अर्थ हुन्छ सोचेर गरेको । त्यसैले हरेक घटना अनौठा र अन्तिम हुन्छन् । त्यसलाई पुनरुक्ति गर्न सकिदैन ।