वर्षौसम्म काम पूरा नगर्ने ३ सय ३२ कम्पनी कालोसूचीमा
काठमाडौं–विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म सरकारी जिम्मेवारी समयमा पूरा नगर्ने ३ सय ३२ निर्माण कम्पनी र ‘सप्लायर्स’लाई कालोसूचीमा सूचीकृत गरिएको छ ।
कामको जिम्मा लिने तर काम नगर्ने, काम गरे पनि गुणस्तरहीन काम गर्ने, समयमा नगर्ने विभिन्न ३ सय ३२ निर्माण कम्पनी र सप्लायर्सलाई अहिलेसम्म कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिले ३५ वटा फाइल प्रक्रियामा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सार्वजनिक खरिद अनुगमन कार्यालय रहेको छ ।
अनुगमन कार्यालयका निर्देशक राजेश थापाले आर्थिक वर्ष २०६४/६५ देखि कामको जिम्मा लिने तर काम नगर्ने, काम गरे पनि गुणस्तरहीन काम गर्ने, समयमा काम नगर्ने निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राख्ने गरिएको बताउँदै सो आर्थिक वर्षदेखि अहिलेसम्म विभिन्न ३३२ निर्माण कम्पनी र सप्लायर्सलाई कालोसूचीमा राखिएको जानकारी दिए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । यो समाचार भउचप्रसाद यादवले लेखेका हुन् ।