एलआईसी नेपालको नयाँ बीमा योजना सार्वजनिक, एक लाखको बीमा गर्दा ७५ लाखको जीवन सुरक्षा
काठमाडौं – लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी)ले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना सार्वजनिक गरेको हो ।
१६ देखी ६५ वर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजनामा सहभागिता जनाउन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम १ लाखबाट सुरु हुने यो बीमा योजनामा अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार हुने जनाइएको छ । यस योजनामा बीमा अवधि न्युनतम ५ वर्ष र अधिकतम २५ वर्ष रहेको छ । बीमा परिपक्वतामा आर्जित बोनससहित बीमाङ्क रकम एकमुष्ठ प्रदान गरिनेछ ।
साथै, यस योजनामा बीमा परिपक्कतापछि बीमितले इच्छा अनुसार ५ देखि १० वर्षभित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ । न्युन बीमाशुल्क भएको यस ‘जीवन बचत’ योजनामा अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभसमेत लिनसकिने छ । बीमाशुल्क भुक्तानीको १ वर्ष पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्नेछन् ।
