वन अधिकृतसहित १३ जनाविरुद्ध करोडौं रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा
मकवानपुर – सेतीदेवी वनको रुख काटेर बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन वन अधिकृत (डीएफओं) सहित १३ जनाविरुद्ध डेढ करोड रुपैयाँ बराबरको भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
तत्कालीन वन अधिकृत राजेन्द्र न्यौपाने, सहायक वन अधिकृतहरु रामबाबु यादव, राजेन्द्रमान राजभण्डारी, विशाल भट्टराई, सोनालालप्रसाद जयसवाल र नारायणबहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
तत्कालीन रेन्जर राजु लामा, फरेस्टर मोहनराज घिमिरे, वन रक्षक किरणकुमार क्षेत्री र धनलाल यादव तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेलाई पनि मुद्दा लगाइएको छ ।
कर्मचारी तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा ९ हजार १७८ क्युफिट काठ हुने गरी हरिया साल तथा अस्त्रा जातका रुखहरु काटेर एक करोड ५२ लाख १९ हजार तीन सय २६ रुपैयाँ ७६ पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।