डढेलोको धुँवाले पृथ्वी घुम्ने नासाको भनाइ

मंगलबार, २९ पौस २०७६

काठमाडौं–अस्ट्रेलियाको ठूलो डढेलोको धुँवा पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ । महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुँवा प्रशान्त महासागरतर्फ बढेको छ ।

नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुँवा अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ ।

‘त्यो धुँवाले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको छ’, अमेरिकी अन्तरिक्ष संस्थाले बताएको छ । अस्ट्रेलियामा सयौँ स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको ज्यान लिनुको साथै २ हजार घर ध्वस्त बनाएको छ ।

विज्ञहरूले ती डढेलोहरूका कारण जलवायु परिवर्तन तीव्र बनाएको दाबी गरेका छन् । नासाका अनुसार ती डढेलोहरू यति विशाल छन् कि तिनले अस्वाभाविक रूपमा धेरै आगोका कारण हुने आँधीबेहरी ल्याएका छन् ।

त्यसको कारण धुँवा आकाशको धेरै नै माथि पुगेको छ । धुँवा १७.७ किलोमिटर माथिसम्म पुगेको नासाको तथ्याङ्क छ । ‘त्यति माथि पुगेको धुँवा संसारभरको आकाशको अवस्थालाई प्रभावित पार्दै पृथ्वी घुम्न सक्छ’, नासाले भनेको छ ।

नासाले त्यो उचाइको धुँवाले आकाशलाई चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ । नासाका अनुसार धुँवाका कारण उत्तर अमेरिकाको आकाशको रङ्ग परिवर्तन भएको र न्यूजील्याण्डमा नाटकीय प्रभाव पारेको बताएको छ ।

न्यूजील्याण्डमा धुँवाले वायु प्रदुषण नराम्ररी बढाएको र हिमालको टुप्पोको हिउँलाई कालो बनाएको छ । अस्ट्रेलियाका ठूला शहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा र एडिलेडको वायु प्रदूषण खतराको अवस्थामा पुर्‍याएको छ ।