प्रेरक प्रसंग : भाषाले दिएको तनाव
काठमाडौं – एकपटक एकजना साहुले शहरमा रुईको (कपास) माग बढेको हुनाले उतै बसेर घरमा एउटा चिठुी लेखेछन्, ‘काका त अजमेर गए, म पनि रुई लिन, तिमि पनि रुई लेऊ र ठूली बुहारीलाई पठाइदेऊ ।’
उता घरमा यो चिठी पढियो, तर अर्थ यस्तो लाग्यो, ‘काका त आज मरिगए, म पनि रुइरहँदै, तिमी पनि रुइलिऊ र ठूली बुहारीलाई पठाइदेऊ ।’
सबैजना यो पढेर बेस्सरी रुन थाले । काका मरे भनेर उनको शोक मनाइयो र ठूली बुहारीलाई साहु कहाँ पठाइयो । बुहारी रुँदै पसल आइपुगी । साहुले सोधे, ‘के भो ? किन रोएकी ?’
बुहारी पु¥याउन आएका अरु गाउँलेले भने, ‘हामी त काका आज मरिगए भन्ने सुनेर रोएका हौ ।’ यो सुनेर साहु रिसाए र भने, ‘के भनेको यस्तो ?’ गाउँलेले पत्र फिर्ता दिदै भन्यो, ‘ल आफुले लेखेको पत्र पढ न त ।’
साहुले भने, ‘मैले त अजमेर गए लेख्याछु त ।’ उनीहरुले भने, ‘हामीले आज मरि गए बुइयौ ।’ सबै मरिमरि हाँस्न थाले ।
तसर्थ, लेख्दा स्पष्ट रुपमा लेख्ने र लेखेको कुराको राम्रो सँग अर्थ लगाएर, आशय बुझेर मात्र प्रतिकृया जनाउने गरौं ।