फिल्म ‘दुई नम्बरी’मा दयाहाङ, पल र वर्षाको अभिनय
काठमाडौं – दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा फिल्म ‘२ नम्बरी’को बन्ने भएको छ । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको औपचारिक घोषणा गरियो । निर्माण टिमका अनुसार फिल्मले २ साथीको कथा पस्किनेछ । पहिलोपटक दयाहाङ राई र पल शाहले यही फिल्मबाट एकसाथ काम गर्दैछन् ।
फिल्मको शीर्ष भूमिकामा नायिका वर्षा राउत र बुद्धि तामाङको पनि अभिनय रहनेछ । निर्देशक लामाले एक गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा यो चलचित्र बन्ने बताए । चलचित्रले दुई नम्बरी कामलाई पनि उठाउने उनले बताए ।
कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले पनि फिल्मको कथा मन परेपछि आफू काम गर्न तयार भएको प्रतिक्रिया दिए । यता पल शाहले पनि कथाले आफूलाई तानेको भन्दै थपे । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् ।
किरण नेपालीको प्रस्तुतीमा तयार हुन लागेको फिल्ममा रोहित कट्टेल र सरोज नेपालीको लगानी रहनेछ । यस्तै फिल्ममा अमलादेवी राई सह–निर्माण रहनेछ । सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहने यो फिल्मको छायांकन माघको २५ गतेबाट हुने बताएका छन् ।