विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

मंगलबार, १४ माघ २०७६

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रौतहट जिल्ला सेक्रेटरी सिसम शाहीसहित २ जना पक्राउ परेका छन् । पार्टीको सेल्टरमा सुतिरहेको अबस्थामा जिल्ला सेक्रेटरी शाही र जिल्ला सदस्य दुर्गा बललाई प्रहरीले मंगलबार विहान पक्राउ गरेको हो ।

उनीहरु पक्राउ परेपछि नेकपा नारायणी ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै शाही र बललाई तत्काल रिहाइको माग गरेको छ । ब्युरो इन्चार्ज शितलद्धारा जारी विज्ञप्तिमा माघ १४ गते बिहान घरमा सुतिरहेको अवस्थामा रौतहट जिल्ला सेक्रेटरी र पार्टी जिल्ला सदस्यलाई रौतहट प्रहरीले गिरफ्तार गरेकोमा तत्काल बिनासर्त रिहा गर्न र अन्यथा प्रतिरोधको सामना गर्न तयार रहन चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजमा अमेरिकी योजना एमसीसीका पक्ष र विपक्षमा बहस चलिरहेको छ । केपी वली, प्रचण्ड, शेरबहादुर देउवालगायत संसद्वादी दलहरू एमसीसीका पक्षमा रहेका छन् भने राष्ट्रवादी शक्ति, बुद्धिजीवी, नागरिक समाज र सच्चा कम्युनिस्टहरू एमसीसीका विरुद्ध छन् । देशलाई एकपछि अर्को गर्दै संसद्वादी दलालहरूले बर्बादीकरण गरिरहेका छन् । महँगी, भ्रष्टाचार, घुसखोरी र कालाबजारियाले गर्दा जनताको जीवन कष्टकर बन्दै गएको छ । हाम्रो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि जनक्रान्तिमा अगाडि बढिरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल सामाजिक फासिवादी सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाई शान्तिपूर्ण भेला–सम्मेलन गर्नसमेत रोक लगाएको छ । हाम्रा नेता–कार्यकर्तालाई दमन, धरपकड र हत्या गरेको छ । यही प्रक्रियामा २०७६ माघ १४ गते बिहान ४ बजे रौतहटको सेल्टर घरमा सुतिरहेको अवस्थामा रौतहट जिल्ला सेक्रेटरी कमरेड सिसम शाही र पार्टी जिल्ला सदस्य कमरेड दुर्गा बललाई रौतहट प्रहरीले गिरफ्तार गरेको छ । हाम्रो पार्टी यो हर्कतको घोर भत्र्सना गर्दछ ।’