३ वटा ट्रक आपसमा ठोक्किँदा ३ को मृत्यु, ९ घाइते

मंगलबार, १४ माघ २०७६

 

काठमाडौँ- रुपन्देहीमा ३ वटा ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।भैरहवा–भुमही सडकखण्डमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो। रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक आपसमा ठोक्किँएको रुपन्देही प्रहरीले जनाएको छ।

अत्याधिक कुहिरोका कारण ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनामा परी ९ जना घाइते भएका छन्।बिहान करिब साढे ६ बजे भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु१ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना२ख ८४८१ र ना५ख ७८५६ नम्बरको ट्रक अत्याधिक कुहिरोको कारण आपसमा ठोक्किँएको बताइएको छ।

दुर्घटनामा मृत्यु भएको सनाखत भएको छैन। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्य ५ जना सामान्य घाइते भएका छन्। घाइतेहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार भैरहवाबाट लोडेड ट्रक परासीतर्फ जाँदा विपरीत दिशातर्फबाट आउँदै गरेको खाली ट्रकसँग जुधेको हो। २ वटा ट्रकमा क्षति भएको छ भने एउटा ट्रकमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।