बैठकमा सहभागी हुन मन्त्री हिँडेपछि बैठकनै स्थगित

शुक्रबार, १७ माघ २०७६

काठमाडौं–नेकपा केन्द्रीय समिति बैठकमा सहभागी हुन मन्त्री हिँडेपछि सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारका लागि तय बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारका लागि बोलाइएको बैठकमा एफएम रेडियो र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई विषयगत समितिमा लैजाने कार्यसूची थियो । तर आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं हिँडेपछि बैठक स्थगित गरिएको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नआउने भएपछि बैठक स्थगित गरिएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । धामीका अनुसार, अर्को बैठक आगामी आइतबारका लागि डाकिएको छ । बैठक स्थगित गर्ने संसद् सचिवालयको निर्णयप्रति कांग्रेसले भने असन्तुष्टि जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले महत्त्वपूर्ण विषयमा छलफल चलिरहँदा मन्त्री नै अनुपस्थित हुनु उपयुक्त नभएको बताए । ‘यस्तो महत्त्वपूर्ण विषयमा मन्त्रीहरू नहुनु ठीक होइन,’ उनले भने, ‘सरकारले सदनलाई महत्त्व दिइरहेको छैन ।’ यसअघि पनि ‘रेडियो एफ.एम र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ मन्त्री शाह नहुँदा भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले दिएका थिए ।

कानूनमन्त्री मात्रै होइन, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अनुपस्थित हुँदा बुधबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्योग, पर्यटन, वन तथा वातावरणका दुई विधेयक प्रदेशसभामा टेबल गरेका थिए । मन्त्री सुवेदीले विधेयकमात्रै टेबल गरेनन्, विधेयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि दिएका थिए । यसप्रति प्रतिपक्षी दलले असन्तुष्टि जनाउँदै आएका छन् ।