अव नेपालले पनि कोरोना भाइरसका बिरामीलाई छुट्टै अस्पताल बनाउने

शनिबार, १८ माघ २०७६

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई छुट्टै उपचार केन्द्र स्थापना गर्ने बताएका छन् ।

मन्त्री ढकालले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले ब्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोचमा सरकार रहेको बताए ।

अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भने, ‘१४÷१५ दिनसम्म कैयौँ बिरामीलाई हामीले राख्यौँ, तर त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ ।’

उनले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरिकाले राख्नसक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालिम केन्द्रलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए । ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उनको भनाई थियो ।

बिरामीको सङ्ख्याका आधारमा केन्द्र बनाइने बताइएको छ । सरकारले अहिले १०० भन्दा बढी शैय्याको विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको बताउँदै मन्त्री ढकालले पच्चीस शैय्याका दुई घुम्ती अस्पताल पनि रहेको बताए । रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताए ।