सार्वजनिक यातायात सहज गराउन माग

मंगलबार, २१ माघ २०७६

काठमाडौँ -पश्चिम लमजुङका सरोकारवालाले सार्वजनिक यातायात सहज गराउन माग गरेका छन् । पश्चिम लमजुङको मध्यनेपाल–४, दुईपिप्लेस्थित सामुदायिक सेवा केन्द्रले सो क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक यातायातमा यात्रुहरूलाई असहज भएको भन्दै सुधार गर्न माग गरेका हुन् ।

जिल्लाको पश्चिम क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिक, महिला, अशक्त र विद्यार्थीलाई सरकारले तोकेको न्यूनतम सुविधा पनि नभएको भन्दै सेवा केन्द्रले यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गराएको हो । विशेषगरी सवारी साधनमा महिला अशक्त, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिका लागि सिट सुरक्षित नभएको, विद्यार्थी, अपांगता भएका व्यक्तिले कानुन अनुसार पाउनुपर्ने छुट नपाएको लगायतका गुनासो आएको भन्दै यसतर्फ बेलैमा सचेत गराउनु परेको सामुदायिक सेवा केन्द्र दुईपिप्लेका अध्यक्ष केशवराज वाग्लेले बताए ।

सो बाहेक उक्त क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरुमा अग्रिम टिकट लिन पाउनुपर्ने व्यवस्थाको पनि माग गरेका छन् । विशेषगरी तनहुँको दमौलीबाट सो क्षेत्रमा आउने सवारी साधनमा टिकट दिन आनाकानी गर्ने गरेको अध्यक्ष वाग्लेको आरोप छ । यातायात व्यवसायीले टिकट वितरणका लागि काउण्टर राखे पनि सहज रूपमा टिकट नदिने गरेको र क्षमताभन्दा बढी यात्रु हुँदा सार्वजनिक सवारी साधनमा यात्रा गर्न समस्या भएको वाग्लेले बताए ।
टिकट र सिटको व्यवस्था नहुँदा जेष्ठ नागरिक, महिला एवं अशक्तलाई समस्या हुने गरेको अध्यक्ष वाग्लेको भनाइ छ । यस विषयमा सम्बन्धित निकायलाई पटक पटक मौखिक रूपमा जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै लिखित रूपमै जानकारी गराएको अध्यक्ष वाग्लेले बताए ।
सेवा केन्द्रले सो विषयमा जिल्ला प्रशासन कार्यालय लमजुङ, जिल्ला ट्राफिक कार्यालय लमजुङ र तनहुँ, मध्यनेपाल र तनहुँको व्यास नगरपालिका, स्थानीय वडा कार्यालय र स्थानीय प्रहरी चौकीमा समेत आवश्यक कारबाहीका लागि लिखित जानकारी गराएको हो ।
मध्यनेपाल क्षेत्रमा लमजुङ सदरमुकाम बेसीसहरबाट भन्दा पनि तनहुँको सदरमुकाम दमौलीबाट बढी मात्रामा सार्वजनिक सवारी साधन गुड्ने गर्दछन् । भौगोलिक रूपमा सो क्षेत्रका बासिन्दालाई दमौली बजार नजिक पर्ने भएकाले पनि सरकारी कार्यालय बाहेकका किनमेल लगायतका अन्य काम कारबाही दमौलिबाट गर्दै आएका छन् ।
लमजुङ सदरमुकाम बेसीसहरबाट दैनिक दुईवटा सवारी साधन नियमित जाने दुईपिप्ले क्षेत्रमा तनहुँको दमौलीबाट भने दैनिक १० भन्दा बढी सवारी साधन गुड्ने गरेका छन् । अव्यवस्थित यातायात र यात्रुहरूको चापले गर्दा नै जेष्ठ नागरिक, महिला तथा अपांगता भएकालाई निकै समस्या हुँदै आएको छ ।