नेपालमा किन कम देखियो कोरोना भाइरस ? यस्ता छन पाँच कारण
किाठमाडौं – विभिन्न विकसित राष्ट्रहरू पनि कोभिड १९ महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून छ। सरकारी तथ्याङ्कअनुसार हालसम्म नेपालमा नौ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।
त्यसमध्ये एक जना निको भइसकेका छन् भने आठ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात् अलग्गै राखेर उपचार गरिँदैछ। बुधवार साँझसम्मको विवरणअनुसार सङ्क्रमणको आशङ्कामा थप ८२ जनालाई आइसोलेशनमा राखिएको छ। उनीहरूको परीक्षण प्रतिवेदन आउन बाँकी छ।
नेपालमा भेटिएका सङ्क्रमितमध्ये आठ जना विदेशबाट आएका छन् भने एक जना सङ्क्रमित व्यक्तिकी परिवारकी सदस्य हुन्। नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरूलाई क्वारन्टीनमा नराखेका नेपालमा अरू व्यक्ति पनि सङ्क्रमित भएको हुन सक्ने केही जनस्वास्थ्यविज्ञ र टिप्पणीकारको आशङ्का छ।
तर केही विज्ञहरू नेपालमा अहिलेसम्म कुनै पनि एउटा स्थानमा एकै खाले लक्षण देखिएर धेरै मानिस बिरामी भएको वा तिनको मृत्यु भएको नदेखिएकाले त्यस्तो आशङ्का पुष्टि गर्न नसकिने तर्क गर्छन्। नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनुमा विभिन्न कारण हुन सक्ने चिकित्सक तथा जनस्वास्थ्यविज्ञहरू बताउँछन्। विज्ञहरूले देखेका पाँच सम्भावित कारणहरू यस्ता छन्
१) परीक्षण नै नहुनु
कतिपय चिकित्सकहरूले नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताएका छन्। उनीहरूका भनाइमा जति परीक्षण भएको छ त्यसको आधारमा नेपालमा कोरोनाभाइरस धेरै फैलिएको छैन भन्न सकिँदैन।
स्वास्थ मन्त्रालयका अनुसार बुधवारसम्म कुल ४४२६ वटा नमुनाको परीक्षण गरिएको छ। त्यसमध्ये नौवटा मात्र सङ्क्रमण देखियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वप्रमुख डा. बाबुराम मरासिनी नेपालमा परीक्षणको गति र सङ्ख्या बढाउनुपर्ने बताउँछन्।
उनी भन्छन्, ‘यो कुरा त हामीले सुरुदेखि नै भनिरहेका छौँ। विशेषगरी ज्यानुअरीदेखि नेपालमा धेरै पर्यटकहरू आए त्यसबेला नै नेपालमा धेरैमा सङ्क्रमण भएको पनि हुन सक्छ।’
- ‘नेपाल जर्नल अफ एपिडीमीओलजी’मा हालै प्रकाशित एउटा लेखमा पनि नेपालमा परीक्षण नै कम भएको उल्लेख गरिएको छ
त्यस्तो सङ्क्रमण समयक्रममा आफैँ निको भएर गएको हुन सक्ने उनको भनाइ छ। ‘नेपाल जर्नल अफ एपिडिमियोलोजी’मा हालै प्रकाशित एउटा लेखमा पनि नेपालमा परीक्षण नै कम भएको उल्लेख गरिएको छ।
नेपाली र विदेशी गरी छ चिकित्सकले लेखेको उक्त लेखमा ‘परीक्षणको अभावमा थोरै मानिसहरूको मात्र सङ्क्रमण पत्ता लागेको हुन सक्ने’ उल्लेख छ।
यसरी कम परीक्षण हुनुमा परीक्षण काठमाण्डू केन्द्रित हुनु, परीक्षण गर्ने सामग्री, किट र उपकरणको अभाव र चिकित्सकहरूले नमुना लिन नमान्नु आदि कारण भएको केही सरकारी चिकित्सकहरूले बताए।
तर सरकारले केही दिनअघिदेखि काठमाण्डूबाहिर पनि परीक्षण सेवा विस्तार गरेको छ भने तीव्र रूपमा परीक्षण गर्ने जनाएको छ।
२) नेपालीको जीवनशैली
कतिपय चिकित्सकहरूले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुन सक्ने तर्क गरेका छन्। तर उनीहरूकै भनाइमा यसबारे विस्तृत अध्ययन नभई ठोकुवा गर्न भने सकिँदैन।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन पनि नेपाली जीवनशैलीका कारण कम सङ्क्रमण भएको हुन सक्ने ठान्छन्।
उनले विभिन्न पत्रपत्रिकामा आलेख नै प्रकाशित गरेर नेपाली जीवनशैलीको प्रभावले कोरोनाभाइरस फैलिने सञ्जाल भत्किएको टिप्पणी गरेका छन्।
उनले भनेका छन, ‘हामी धेरै पानी खेलाउने रहेछौँ अनि खानेकुराहरू पनि धेरै पकाएर खान्छौँ। त्यस्तै हात मिलाउने, अङ्कमाल गर्ने वा म्वाइँ खाने चलन पनि हाम्रोमा कमै छ। यस्ता क्रियाकलापले कोरोनाभाइरस फैलिनबाट रोकेको हुन सक्छ।’
उनले नेपालमा विगतमा सार्स र स्वाइन फ्लूको सङ्क्रमण पनि अन्यत्रजस्तो नदेखिएको स्मरण गर्दै अन्यत्रको तुलनामा भारतमा पनि सङ्क्रमण फैलिने दर कम भएको बताए। पुनले भने, ‘हाम्रो खानपान र जीवनशैलीले कोरोनाभाइरस फैलिने साङ्लोलाई कतै न कतै चुँडाइरहेको छ भन्ने एउटा दरिलो तर्क हो। अब यसमा विस्तृत अध्ययन हुन जरुरी छ।’
३) नेपालीको प्रतिरक्षा प्रणाली बलियो हुन
विज्ञहरू नेपालीहरूमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरस सङ्क्रमण कम भएको हुन सक्ने बताउँछन्।
परीक्षण कम भएको अवस्थामा पनि नेपालमा कोरोनाभाइरससँग मिल्दोजुल्दो सङ्क्रमण एउटै टोल वा गाउँमा फैलिएको खबर अहिलेसम्म नआएको कुराले त्यसलाई पुष्टि गर्ने उनीहरूको तर्क छ।
उनीहरूका बुझाइमा कोरोनाभाइरस फैलिएकै भए पनि नेपालीहरूको प्रतिरक्षा प्रणालीका कारण सामान्य लक्षणहरू मात्र देखिँदा धेरै अस्पतालसम्म नपुगेका हुन सक्छन्।
डा. मरासिनी भन्छन्, ‘कतिपय रोगसँग लड्ने क्षमता जातिअनुसार फरक हुने गर्छ। त्यसबारे धेरै अध्ययन अनुसन्धान पनि भएका छन्। अमेरिकामा पनि गोरा र काला जातिबीच कुनै एउटा रोगसँग लड्ने क्षमता कम र बढी पाइएको छ।’
‘अर्को उदाहरण हेर्ने हो भने थाईल्यान्डमा दादुरालाई खासै ठूलो रोगै मानिँदैन। त्यहाँका मानिसहरूले त्यसलाई पचाएको जस्तो देखिन्छ। तर हाम्रोमै दादुरा निकै घातक पनि भएको छ।’
डा. पुन चाहिँ हाल नेपालमा भेटिएका नौ जना सङ्क्रमितमा एकदमै सामान्य खालका लक्षणहरू मात्र देखिनुलाई त्यसको गतिलो प्रमाण मान्छन्।
उनी भन्छन्, ‘नेपालमा देखिएका नौ जनामै किन माइल्ड (मध्यम) लक्षणहरू मात्र देखियो त ? अहिले टेकुमै हामीले उपचार गरिरहेका बिरामीहरूलाई पनि हामीले राख्नैपर्ने भएकाले मात्र राखेका हौँ। अन्य रोग लागेको थियो भने उहाँहरूलाई घरै पठाइसक्थ्यौँ। कसैमा पनि कुनै गम्भीर लक्षण नै देखिएको छैन।’
तर यसमा नेपालीहरूको प्रतिरक्षा प्रणालीले कति भूमिका खेलेको छ भन्ने चाहिँ अनुसन्धानकै विषय भएको उनले बताए।
४) बीसीजी खोपको प्रभाव
क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ। कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ।
बीबीसी विश्व सेवाका अनुसार हालैको एउटा समीक्षा हुन बाँकी अध्ययनले जुन देशहरूमा बीसीजी खोप दिइएको थियो ती देशहरूमा कोरोनाभाइरस सङ्क्रमण कम देखिएको जनाएको छ।
नेपालमा पनि बालबालिकाहरूलाई यो खोप अनिवार्य रूपमा लगाइदिने गरिन्छ।
त्यसले गर्दा पनि नेपालमा सङ्क्रमण कम फैलिएको र सङ्क्रमितहरूलाई पनि उक्त खोपको प्रभावका कारण सामान्य लक्षणहरू मात्र देखिएको हुनसक्ने विज्ञहरूको भनाइ छ।
मरासिनी भन्छन्, ‘यो विषय त अहिले सबैतिर चर्चामा आयो। खासगरी युरोप र अमेरिकामा यो मात्र नभई अन्य खोपहरू पनि लगाउने चलन कम छ। नेपालमा भने हामीले अनिवार्य नै खोप लगाउँछौँ। त्यसको प्रभाव पनि हुनसक्छ।’
५) भाइरस फैलाउने पूर्वाधार नै कम हुनु
विशेषगरी कम विकसित देशमा कोरोनाभाइरसको सङ्क्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन सहयोग गर्ने खालका सहरी पूर्वाधारकै कमी हुन सक्ने पनि चिकित्सकहरूको तर्क छ।
विकसित देशमा जमिनमुनि सब–वे र मेट्रो रेलजस्ता यातायातका संरचनाहरू रहेका छन्। त्यस्ता पूर्वधार भारतका महानगरहरूमा पनि छन्।
‘नियमित सफा राखिए पनि त्यस्ता संरचनामा मानिसहरूको भिडभाड भइरहने गर्छ। त्यहाँ कृत्रिम रूपमा तापक्रम त मिलाइएको हुन्छ तर घामको प्रकाश कहिल्यै पर्दैन। भाइरस त्यस्ता स्थानमा लामो समय टिक्छ भन्ने त प्रमाणित भइसकेकै कुरा हो। नेपालमा भने त्यस्ता संरचना नै छैनन्,’ मरासिनी भन्छ
नेपालमा प्रायः यातायातका साधनहरूमा भिडभाड भए पनि घामको प्रकाशमै हिँड्ने खालका रहेको र सार्वजनिक यातायातमा विदेशीहरू चढ्दै नचढ्ने गरेकाले सङ्क्रमण कम भएको हुन सक्ने उनको तर्क छ।
त्यस्तै ठूलाठूला लिफ्टजस्ता पूर्वाधारमा कोचिएर मानिसहरू बस्ने तथा एक जनाले छोएको स्थानमा अर्कोले छुने क्रियाकलाप हुने गर्छन्। तर नेपालमा काठमाण्डूभित्र केही स्थानमा बाहेक अन्यत्र यस्ता पूर्वाधार नै नभएकाले पनि सङ्क्रमण फैलावटको साङ्लो चुँडिएको हुन सक्ने उनले बताए।
उनले भने, ‘त्यति मात्र होइन युरोप–अमेरिकातिर हेर्दा चिटिक्क तर पानीको खासै प्रयोग नहुने खालका शौचालयहरू पनि प्रयोगमा हुने गर्छन्। त्यसले पनि सङ्क्रमण फैलाउन भूमिका खेलेको हुन सक्छ। हाम्रोमा त चिटिक्क नभए पनि शौचालयमा पानी अनिवार्य चाहिन्छ।
सङ्क्रमण फैलाउन भाइरसलाई कति बेरसम्म बचाएर राख्न सक्ने खालका पूर्वाधार छन् भन्नेले पनि भूमिका खेल्ने उनको दाबी छ। समाचार श्रोत बीबीसी
