संसदमा नेता नेपालको प्रश्न : खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिँदा पनि सरकार चुप छ, गृह प्रशासन छ कि छैन ?
असोज ११, काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार संसद बैठकमा समय लिएर बोल्दै पछिल्ला घटनाहरुले राज्यमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन्।
नेपालले संसद बैठकमा भने, ‘बलात्कार, एसिडबाट आक्रमण अनेकौं यस्ता घटना घटेका छन्, भ्रष्टाचार बढेको छ, रोक्ने, नियन्त्रण गर्ने अंग छ कि छैन, कोही गिरफ्तार भएका छन् कि छैनन्, मान्छे हेर्न चाहन्छन् काम, मान्छे हेर्न चाहन्छन् परिणाम।’
उनले खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिँदा पनि सरकार चुप लागेको बताए। ‘गृहमन्त्री कहाँ हुनुहुन्छ ? गृह प्रशासन छ कि छैन ?’ उनले साेधे, ‘खुलेआम देशलाई टुक्र्याउने व्यक्ति छन्, त्यस्तालाई देशभित्रैकाले साथ दिइरहेका छन्।’
सांसदहरुले पनि लाज मानेर र शीर निहुराएर हिँड्नुपर्ने अवस्था रहेको उनले बताए।
‘बाटाघाटामा हिँड्दा, बसमा हिँड्दा के भन्लान्, पैदल हिँड्दा के भन्लान्, पसलमा छिर्दा के भन्लान् ?’ नेता नेपालले भने, ‘अर्को अधिवेशनमा आउँदा शीर ठाडो हुने गरी आउन पाइयोस्।’