आफ्ना कर्मचारीसँग कस्तो व्यवहार गर्ने ?

आइतबार, ७ असार २०७७

काठमाडौं – स्कटल्याण्डका एक व्यक्ति एन्ड्रिउ कारनेगी सानै उमेरमा स्कटल्याण्डबाट अमेरिकामा गएर सानो–तिनो काम गरी जीवन गुजारा गर्न थाले । पछि उनी अमेरिकाकै सबैभन्दा ठूलो स्टिल कम्पनीको मालिक बने ।

एकताका ४३ जना करोडपतिहरु उनको लागि उनको कम्पनीमा काम गर्दथे । ८०–९० बर्ष पहिले एक मिलियम डलर ठूलो रकम हुन्थ्यो र हाल पनि हुन्छ । कसैले एक दिन कारनेगीलाई सोध्यो, ‘तपाईँ आफ्नो कामदारहरुसित कसरी व्यवहार गर्नुहुन्छ ?’

उनको जवाफ थियो, ‘कामदारहरुसँग व्यवहार गर्नु भनेको सुनको खानी खन्नु सरह हो । जुन तपाई एक तोलाको लागि खन्नुहुन्छ । त्यसका लागि तपाईँले कयौँ टन माटो फ्याक्नु पर्छ तर तपाईँ खन्न जाँदा माटोको लागि होइन सुनको लागि जानुहुन्छ । माटोलाई ख्याल गर्नुभयो भने अत्यास लाग्छ र सुन भेट्टाउन सकिदैन ।’

कारनेगीको उत्तरको निकै ठूलो महत्व छ । कहिले काँही कुनै पनि व्यक्ति र अवस्थामा सकारात्मक प्रष्ट देखिदैन तर पनि हामीले सकारात्मकका लागि गहिरिएर हेर्नुपर्छ ।

हाम्रो उद्येश्य के हुनुपर्छ ? सुनको खोजिमा । गल्ती र कमजोरीहरु खोज्ने हो भने त तपाईँले धेरै गल्ती र खराब पक्षहरु पाउनु हुनेछ । गल्ती खोज्नेहरुले स्वर्गमा त खराबी भेट्छन् । हामी माटोमा सुन खोजिरहेका छौँ ? अधिकाँश व्यक्तिले त्यही पाउँछन, जुन कुराको खोजी उनीहरुले गरिरहेका छन ।

त्यसैले कर्मचारीहरुमा कमजोरी हुन्छन हामीले कमजोरी होइन उनीहरुका सकारात्मक कुराहरुको अनुसरण गर्नुपर्छ ।