विप्लवका भक्तपुर सेक्रेटरी शाही कारागार चलान

मंगलबार, २७ साउन २०७७

काठमाडौ – विप्लव नेतृत्वको नेकपाका अर्का एक नेता धरौटी तिर्न नसक्दा कारगार चलान भएका छन । नेकपाका झक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाही (अखिल) जिल्ला प्रशासन कार्यलय ललितपुरले तोकेको १० हजार रुपैयाँ धरौटी तिर्न नसक्दा कारागार चलान भएका हुन ।

अभद्र व्यवहारको मुद्धामा पक्राउ परेका उनलाईजिल्ला प्रशासन कार्यलय ललितपुरले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनले दश हजार रुपैयाँ बुझाउन नसकेपछि नख्खु कारागार चलान गरिएको जिल्ला प्रशासन कार्यलय ललितपुरले जनाएको छ ।

यद्यपी धरौटी तिर्न नसकेको भन्दा पनि पार्टीको जेल नीति अनुसार धरौटी जम्मा नगरेर स्वेच्छिक कारागार जीवन रोजेको नेकपाले जनाएको छ ।

यसअघि उनलाई प्रहरीले कलङ्कीबाट पक्राउ गरी भक्तपुर लगेको थियो । भक्तपुर जिल्ला अदालतले साधारण तारिखमा छोड्न आदेश दिएपछि प्रहरीले उनलाई रिहा गरेको थियो । रिहा भएलगत्तै उनलाई पुनः पक्राउ गरी ललितपुर लगिएको थियो ।

सोमबार मात्रै विप्लवका केन्द्रीय सदस्य ओम पुन धरौटी बुझाउन नसक्दा कारगार चलान भएको थिए ।