भक्तपुर काण्डबारे नयाँ रहस्य खुल्यो

शनिबार, २७ भाद्र २०७७

काठमाडौं – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणमा नयाँ रहस्य खुलेको छ । प्रहरी श्रोतले दिएको जानकारी अनुसार श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

आमा र छोराको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको र सुदिपले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली घटना स्थल पुगेको थियो । त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको थियो ।

‘पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको थियो, भित्तामासमेत रगतको छिर्का देखिएको थियो’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको थियो ।’

अनुसन्धान अधिकृतहरुका अनुसार दुवै जनाको शव सडिसकेको अवस्थामा भेटिएको थियो । त्यसैले कम्तिमा दुई दिनअघि आमा–छोराको हत्या भएको हुनसक्छ ।

स्रोतका अनुसार अन्तिम तलामा ढोका छेउ मृत अवस्थामा भेटिएका सुदिपको शरीरमा भने कुनै बाहिरी चोटपटक छैन । उनले वान्ता गरेको संकेत देखिन्छ भने शव पनि जस्ताको तस्तै थियो । प्रहरी श्रोतका अनुसार भान्सामा भात, तरकारी लगायत केही खानेकुरा पनि छन्, जसमा विषको जस्तो गन्ध आएको छ ।

प्रहरीले परीक्षणका लागि खानेकुरालाई पनि प्रयोगशालामा पठाउने तयारी गरेको छ । प्रहरीका अनुसार भ¥याङमा कुकुर पनि मृत भेटिएको छ । कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।