अर्थ मन्त्रालय अब बालुवाटारबाट सञ्चालन हुने
काठमाडौं – पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा सधैं सरकारी नियुक्तिमा ‘तर’ मार्ने व्यक्ति हुन् । लामो समय सरकारी कर्मचारी भएर जागिर खाएका उनले सांसद हुँदै अर्थमन्त्री पनि पाए । तर, नेकपाको आन्तरिक किचलोले सांसद बन्न नपाएका खतिवडालाई प्रधानमन्त्री केपी ओलीले केही न केही नियुक्ति दिने अनुमान गरिएको थियो ।
तर, मन्त्रीबाट हटेको दुई साता नबित्दै प्रधानमन्त्रीले खतिवडालाई मन्त्रीसरहकै सेवासुविधा दिने गरी विशेष आर्थिक सल्लाहकार नियुक्ति गरेका छन् । जुन निर्णयको आलोचना सुरु भएको छ । खतिवडालाई पदविना बाँच्नै नसक्ने व्यक्तिका रूपमा हेरिएको छ ।
खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले नै अर्थ मन्त्रालयको जिम्मेवारी हेर्दै आएका छन् । अब अर्थ मन्त्रालय खतिवडाले नै हेर्नेछन् । बुधबारदेखि अर्थ मन्त्रालय सिंहदरबारबाट बालुवाटार सरेको छ । अब बालुवाटारबाटै खतिवडाले अर्थ मन्त्रालय चलाउने छन् ।
मन्त्रिपरिषद् पुनर्गठन नभएसम्म र नयाँ अर्थमन्त्री नआएसम्म खतिवडा नै ‘डिफ्याक्टो अर्थमन्त्री’ बन्ने चर्चा नेकपामा छ । पार्टीभित्रको आन्तरिक किचलो देखाएर दशैंअघि प्रधानमन्त्री ओली मन्त्रिपरिषल् पुनर्गठन नगर्ने मनस्थितिमा पुगेको नेताहरू बताउन थालेका छन् ।