मुख्य सचिव बन्दै बैरागी, लोक दर्शन रेग्मीलाई नयाँ नियुक्ती

मंगलबार, ६ असोज २०७७

काठमाडौं – नियमित प्रक्रियाबाट मुख्य सचिव हुने प्रावधान मिच्दै सरकारले आफू अनुकूलका व्यक्तिलाई मुख्य सचिव बनाउने तयारी गरेको छ । सरकारले मुख्य सचिव लोकदर्शन रेग्मीलाई केही दिनभित्रै राजीनामा दिन लगाएर परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई मुख्य सचिव बनाउने गरी आन्तरिक गृहकार्य अघि बढाएको हो ।

सरकारको इच्छाबमोजिम मुख्य सचिव रेग्मीले राजीनामा दिए निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवका लागि आधा दर्जन सचिव प्रतिस्पर्धामा भए पनि अन्ततः परराष्ट्र सचिव वैरागीले बाजी मार्ने निश्चित छ । मुख्य सचिव रेग्मीलाई भने राजीनामा दिन लगाएर बेलायतको राजदूत बनाउने तयारी गरिएको छ ।

मुख्य सचिव रेग्मीको तीन वर्षे कार्यकाल आगामी ६ कात्तिकमा सकिँदै छ । तर उनलाई त्यसअगावै राजीनामा दिन लगाई परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने गरी गृहकार्य अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । वैरागीलाई मुख्य सचिवका लागि बाटो खुलाउन रेग्मीले २२ असोजअगावै राजीनामा दिइसक्नुपर्छ । मुख्य सचिव रेग्मीले राजीनामा नदिएको अवस्थामा वैरागीले २२ असोजमा अवकाश पाउनेछन् ।

सरकार पुनगर्ठन भएलगत्तै मुख्य सचिवको समेत फेरबदल हुने

नियमित प्रक्रियाबाट मुख्य सचिव परिवर्तन हुँदा प्रशासन सेवाकै सचिव चन्द्रकुमार घिमिरे मुख्य सचिवको पहिलो दाबेदारका रूपमा रहन्छन् । तर, मुख्य सचिव रेग्मीले आफ्नो पदावधि सकिनुभन्दा झन्डै तीन साताअघि नै राजीनामा दिने गरी सहमति जुटेकाले घिमिरेको मुख्य सचिव हुने बाटो करिब करिब बन्द हुने भएको छ ।

वैरागीलाई सहज हुने गरी १५ देखि २० असोजसम्म मुख्य सचिव रेग्मीले राजीनामा दिने निश्चित जस्तै भएको छ । मुख्य सचिवको दौडमा परराष्ट्रसचिव वैरागी, पर्यटन सचिव केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, उद्योग सचिव चन्दकुमार घिमिरे, वन सचिव विश्वनाथ ओली र सहरी विकास सचिव मधुसूदन अधिकारी लगायत छन् ।

मुख्य सचिव रेग्मी ६ कात्तिकसम्ममा नै पदमा रहँदा मुख्य सचिवको दौडमा रहेका वैरागी त्यसअघि नै सेवानिवृत्त हुने भएकाले मुख्य सचिव रेग्मीलाई तीन साताअघि नै राजीनामा दिलाउन लागिएको हो ।

परराष्ट्र सचिव वैरागी, पर्यटन सचिव अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सापकोटाको पदावधि २२ असोजसम्म मात्रै रहेको छ । मुख्य सचिव रेग्मी ६ कात्तिकसम्ममा नै पदमा रहेमा वैरागी, अधिकारी र सापकोटा स्वतः सेवानिवृत्त हुनेछन् । त्यस्तो अवस्थामा वैरागीको मुख्य सचिव हुने बाटो बन्द हुने भएकाले पनि हालका मुख्य सचिव रेग्मीलाई २२ असोजअघि नै राजीनामा दिन लगाएर मुख्य सचिव पद रिक्त बनाउन लागिएको हो ।

नियमित प्रक्रियाबाट मुख्य सचिव परिवर्तन हुँदा ६ कात्तिकपछि वरिष्ठताका आधारमा प्रशासन सेवाकै चन्द्रकुमार घिमिरे मुख्य सचिव हुनेछन् । ६ कात्तिकपछि मुख्य सचिव बनाउने अवस्थामा दोस्रो रोलक्रममा भने वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली रहेका छन् । तर, नियमित प्रक्रिया मिचेर मुख्य सचिव बनाउने आन्तरिक सहमति भइसकेकाले घिमिरे र ओली दुवैको मुख्य सचिव हुने सम्भावना अत्यन्तै न्यून छ ।

सम्भवतः सरकार पुनगर्ठन भएलगत्तै मुख्य सचिवको समेत फेरबदल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।

वैरागी मुख्य सचिव भएमा परराष्ट्र सेवाबाट मुख्य सचिव हुने उनी पहिलो व्यक्ति हुनेछन् । प्रशासन सेवाबाटै मुख्य सचिव बनाउने परम्पराविपरीत सरकारले वैरागीलाई मुख्य सचिव बनाउन लागेको हो ।

मुख्य सचिव रेग्मी राजदूत बन्दै

मुख्य सचिव लोकदर्शन रेग्मीले निर्धारित समयभन्दा अगावै राजीनामा दिनुपरे आफूलाई राजदूत बनाउनुपर्ने माग गरेपछि सरकारले उनलाई बेलायतको राजदूत बनाउने तयारी गरेको छ । सरकारले रेग्मीलाई उनको नियमित अवकाशभन्दा तीन हप्ताअघि नै राजीनामा गर्न लगाई बेलायतको राजदूत बनाउने गृहकार्य अघि बढाएको हो । रेग्मीले ३ हप्ताअगावै राजीनामा दिएमा सरकारलाई आफ्नो रुचिअनुसार नियमित प्रक्रिया मिचेर वैरागीलाई मुख्य सचिव बनाउने बाटो सहज हुनेछ ।

प्रशासनमा गम्भीर धक्का लाग्न सक्ने

नियमित प्रक्रिया मिचेर आफू अनुकूलका व्यक्तिलाई मुख्य सचिव बनाउँदा प्रशासन क्षेत्रमा गम्भीर धक्का लाग्ने प्रशासनका विज्ञहरूले बताएका छन् । सरकारको यस्तो प्रवृत्तिले कर्मचारीतन्त्रको मुख्य प्राणका रूपमा रहेको वृत्ति विकासमा उलटपुलट आउने र प्रशासनलाई प्रतिगमनतर्फ धकेल्ने भन्दै प्रशासनका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारको यस्तो कार्यले प्रशासनिक प्रणाली नराम्ररी खलबलिन सक्ने बताए । ‘यस्तो गलत कामले वृत्ति विकास अनुमानयोग्य हुन सक्दैन, उच्च तहका कर्मचारीको मनोबल र उत्प्रेरणा समेत गिर्छ र निजामती सेवाको विकासमा गम्भीर आँच आउँछ,’ त्रितालले राजधानीसँग भने । विज्ञहरूका अनुसार यस्तो प्रवृत्तिले प्रशासनिक रूपमा विभिन्न गुटहरू सिर्जना हुन सक्ने र त्यसले प्रशासनलाई निम्सरो र कमजोर बनाउन सक्ने भय रहन्छ ।

नवप्रवेशी अधिकृतहरूमा व्यक्तिगत स्वार्थका लागि प्रणालीलाई तिलाञ्जली दिने प्रवृत्तिको समेत विकास हुन सक्ने प्रशासनविद्को तर्क छ । यस्तो प्रवृत्तिले प्रणालीलाई भत्काउने र प्रशासन चाटुकारितामा रूपान्तरण हुने विज्ञको तर्क छ । प्रक्रिया मिचेर ल्याइने मुख्य सचिव पूर्ण रूपमा ‘एस म्यान’ हुने र त्यस्तो व्यक्तिले प्रशासनलाई चलायमान बनाउनै नसक्ने पूर्वसचिव त्रितालको दाबी छ । राजधानी र्दैनिकबाट