कृर्षिकर्ममा कलाकार दीपकराज गिरी

मंगलबार, २५ कार्तिक २०७७

काठमाडौं – कलाकार दीपकराज गिरीले कृर्षिकर्म गर्ने भएको छन । उनले आफ्नो पुख्र्यौली घरमा फार्म–हाउस खोलेर कृर्षिकर्ममा लाग्ने तयारी गरेका हुन ।

दीपक कोरोना संक्रमणको त्रासका कारण स्क्रिप्ट लेख्दालेख्दै छोडेर फार्म–हाउस खोल्ने तयारीमा जुटेका छन । त्यसका लागि उनले करिब ५ करोड रुपैयाँ लगानी गर्ने भएका छन ।

काठमाडौंको चन्दागीरिस्थित दहचोकमा रहेको पुख्र्यौली जग्गामा फार्म–हाउस खोल्ने योजना बनाइरहेको उनी बताउँछन् । “हजुरबाले जोडेको १० रोपनी जग्गा छ, त्यसबाहेक केही जग्गा म थप्दैछु,” दीपक भन्छन्, “फार्म हाउस निर्माणका लागि चारदेखि पाँच कारोड रुपैयाँ लगानी लाग्ने मैले प्रारम्भिक अनुमान गरेको छु ।”

फार्म–हाउसमा पैसा तिरेर बस्ने सुविधादेखि कृषि फार्महरु पनि खोल्ने योजना रहेको उनी बताउँछन् । कृषिसँग सम्बन्धित विभिन्न व्यवसाय गर्ने सोच रहेको बताउँदै दीपक तर कृषि भित्र पनि कुन–कुन क्षेत्रमा व्यवसायिक रुपमा हात हाल्ने त्यो भने विस्तारै निर्धारण हुँदै जाने बताउँछन् ।

“सकेसम्म गाउँका अधिकांश आमा दिदीबहिनीहरुलाई रोजगारी दिनसकौं भन्ने मेरो उद्देश्य छ,” उनी भन्छन्, “मैले चलचित्र कर्ममा रहेर जेजति आर्जन गरेको छु । यो सबै आफ्नै गाउँमा खर्च गर्ने योजना बनाएको छु । स्थानीयस्तरमा रोजगार पनि सिर्जना होस् र कृषि कर्म पनि होस् भन्ने मेरो चाहना हो ।”

कोरोनाको महामारीले हरेक व्यक्तिलाई आफैले आफूलाई चिन्न र चिनाउन मद्दत गरेको भन्दै उनी आफ्नो क्षमता, लगाव र सम्भावना भएका क्षेत्रमा लाग्नु पर्ने समय आएको बताउँछन् । अहिले आफू रहेको क्षेत्रमा जवरस्ती म यही काम गर्छु भनेर लाग्नुभन्दा पनि सहज र सम्भावना भएका क्षेत्रमा काम गर्नुपर्ने अवस्था कोभिड–१९ ले सिर्जना गरेको दीपक बताउँछन् ।

“चलचित्र क्षेत्र अब कहिले पहिलाको अवस्थामा फर्किने र अब कसरी कुन बिन्दुबाट कहिले सुरु हुन्छ भन्ने निश्चित छैन । यस्तो अन्योलमा जवरजस्ती यही क्षेत्रमा काम गर्नुभन्दा फार्म हाउस निर्माण गरौं भनेर यतातर्फ लागेको छु,” उनी भन्छन्, “अहिले सरकारले कृषि क्षेत्रमा केही सहुलियत दिएर उक्त कर्ममा लाग्न प्रेरित पनि गरिरहेको छ । त्यसैले म यही नै गर्छु भनेर भन्नुभन्दा पनि के सहज छ त्यसमा सबैले ध्यान दिनुपर्छ भन्ने मेरो बुझाइ छ । घाँटी हेरेर हाड निल्ने बेला अहिले आएको छ । कोभिड र लकडाउन आफ्नो बारेमा सोच्ने र आफ्नो कामबारे बिचार गर्ने अवसर पनि हो । गाउँघरमा बाउबाजेले गर्दै आएको खेती किसानी कर्ममा लगानी गरेर आधुनिक प्रविधिलाई अवलम्बन गर्दै अगाडि बढ्नु पर्छ ।”

उनले अबको एक वर्ष कम्तीमा आफू र आफ्नो समूहले चलचित्र निर्माण नगर्ने बताए ।