प्रेरक प्रसंग : विश्वासको जादु

मंगलबार, २५ कार्तिक २०७७

काठमाडौं – एउटा स्कूलमा केही सुष्त मनस्थितिका बच्चाहरु थिए । एक जोडी शिक्षकले ती सुष्त मनस्थितिका बच्चालाई लिएर परीक्षण गरे । पहिला तिनीहरुले आई.क्यू टेस्टमा ३० देखि ४० अङ्क ल्याएका थिए ।

उनीहरुले ती बच्चालाई बताए, ‘उनीहरु कति सुन्दर, कति प्रतिभाशाली छन् । र उनीहरुले जे पनि गर्न सक्छन् ।’ शिक्षकले यो कुरा बारम्बार दोहोर्याए । स्कूलका अन्य अधिकारीहरु उनीहरुको विचारको विरोेधी थिए । ती बच्चाले जिन्दगी केही गर्न सक्छन् भन्ने विश्वास एकरत्ती पनि थिएन उनीहरुमा । उनीहरुले ती शिक्षक जोडीलाई सम्झाउँदै भने ‘हेर यिनीहरुप्रति दयालु बन । यिनीहरुलाई आराम र खुसी देऊ । तर यिनीहरु केही गतिलो कुरा हासिल गर्न सक्तैनन् ।’

तर ती शिक्षकले अधिकारीहरुको कुरा मान्न अस्वीकार गर्दै बच्चाहरुलाई केही कुरा बताउने कार्य जारी राखे र भने ‘उनीहरु कति महान् छन् ।’ ती बच्चाहरुले पछि एउटा प्रतिष्ठित स्कुलमा गएर आइक्यु टेस्टमा १५० मा १३० देखि १४० अङ्कसम्म ल्याएका थिए ।
बेङ्लोरकी शकुन्तलाले गणितका आश्चर्य लाग्ने उत्तर दिएर संसारलाई चकित पारिन् । अस्ट्रेलियाको सिड्नीमा उनले एक करोड साठी लाख मूल्य पर्ने कम्पुटरसँग गणितका समस्या सुल्झाउनमा बाजी ठोकेर जितिन् । कम्युटरले कुनै पनि उत्तर दिन जति समय लगाउँथ्यो शकुन्तला त्योभन्दा छिटो उत्तर दिन्थिन् । स्वामी विवेकानन्द पुस्तकमा हात राखेर केवल पाना पल्टाएको भरमा त्यो पुस्तक शब्द शब्द दोहोर्याउन सक्थे ।

यसको मतलब के हो भने हरेक मानिस भित्र अस्तित्वले शक्ति र सामथ्र्य भरेको छ । हामीले यो मानसिक रुपमा अपाङ्ग छ यसले केही गर्न सक्तैन भनेको मानिसले. समेत अद्भुत कार्य गरेर देखाउन सक्छ । त्यस कारण कुनै पनि वहाना बनाउन छोडौ । म गरिब परिवारमा जन्मेँ, म शिक्षित छैन, ममा यो शारीरिक कमजोरी छ, म गलत समय र गलत देशमा जन्मेँ, म फलानो जाति, लिङ्ग या रङ्गको भएकाले गर्न सकिनँ । म अब बूढो भएँ । यी वहानाको ठाउँमा तपाई आफूमा विश्वास भर्नुहोस् । यी कुनै पनि कुरा समस्या होइनन् । यदि तपाई आफूमा विश्वासको जादु जगाउनुहुन्छ भने जेलाई तपाई समस्या देखिरहनुभएको छ, तिनै तपाईका लागि समाधानको बाटो बनेर देखा पर्न थाल्नेछन् ।