नेपाल आउँदै मोदीका अर्का दुत

मंगलबार, २५ कार्तिक २०७७

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आफ्नो दुतका रुपमा अर्का एक व्यक्तिलाई नेपाल पठाउने भएका छन । मोदीले नेपालसँगको संवादहीनतालाई अन्त्य गर्न भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलालाई नेपाल पठाउने भएका हुन ।

उनी मंसिर ११ गते नेपाल आएर दुई दिन बस्ने भारतीय संचार माध्ययमले जनाएका छन । तर नेपालले भने भ्रमणको मिति तय तय भइनसकेको जनाएको छ । ‘भ्रमणका लागि केही अघिदेखि नै छलफल जारी थियो, तर, मिति नै टुंगो लागिसकेको छैन,’ परराष्ट्र मन्त्रालय श्रोतले भन्यो ।

भारतीय अंग्रेजी दैनिक द हिन्दुस्तान टाइम्सले श्रृंगला आगामी मंसिर ११ मा दुई दिने नेपाल भ्रमणमा जाने उल्लेख गरेको छ । तर, नयाँदिल्लीस्थित नेपाली दूतावासले भने भ्रमणका सम्बन्धमा औपचारिक जानकारी नआएको बताएको छ । ‘हामीलाई अझैसम्म औपचारिक जानकारी आएको छैन,’ दूतावासका प्रवक्ता हरि ओडारीले भने ।

भारतीय विदेश सचिव श्रृंगलाको आसन्न नेपाल भ्रमणलाई काठमाडौंसँगको ‘इन्गेजमेन्ट’ सघन बनाउँदै जाने दिल्लीको प्रयासका रुपमा हेरिएको छ । अघिल्लो साता मात्र भारतीय स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेको तीन दिने भ्रमणका लागि काठमाडौं आएका थिए ।

त्यसैगरी कात्तिकको पहिलो साता भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले पनि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्किएका थिए । द हिन्दुस्तान टाइम्सले पनि श्रृंगलाको भ्रमणलाई एक वर्षयता अन्त्य खराब बन्न पुगेको दुई देशबीचको सम्बन्ध सुधारका लागि दिल्लीले प्रयास थालेको संकेत रुपमा उल्लेख गरेको छ ।