चीनले दियो अमेरिकालाई अर्को धम्की, विश्वभर तरङ्ग

बुधबार, २६ कार्तिक २०७७

काठमाडौं – चीनले अमेरिकालाई ताइवानसँग सम्बन्ध अगाडि नबढाउन धम्की दिएको छ । अमेरिका र ताइवानबीच यही महीना आर्थिक विषयलाई लिएर हुन लागेको वार्तालाई लिएर थप सम्बन्धलाई अगाडि नबढाउन भन्दै धम्की दिएको हो ।

ताइवानले उक्त वार्तालाई दुई देशबीचको सम्बन्धको कोशेढुंगा साबित हुने भनेर व्याख्या गरिरहेका बेला बुधबार चीनले अमेरिकालाई सम्बन्ध थप अगाडि नबढाउन चेतावनी दिएको हो ।

प्रशासनिक हिसाबले चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दछ। त्यस कारण चीन ताइवानले अन्य कुनै पनि मुलुकसँग औपचारिक सम्बन्ध राखेको मन पराउँदैन। पछिल्लो समय हातहतियारको व्यापारको विषयलाई लिएर अमेरिकाका वरिष्ठ सुरक्षा अधिकारीहरूले ताइवानको भ्रमण गरेका थिए। जुन चीनले रुचाइरहेको छैन।

ताइवानले अर्थ राज्यमन्त्री चेन चेर्न–चीको नेतृत्वमा डीसीमा डेलिगेसन पठाउने तयारी थालेको छ। सोही सयमामा आगामी २० नोभेम्वरमा अमेरिका – ताइवान आर्थिक समृद्धि साझेदारी वार्ताको उद्घानसमेत हुने तालिका तय भइसकेको ताइवान सरकारले जनाएको छ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ताइवान र अमेरिकाबीच हुने कुनै पनि सम्बन्ध चीनलाई स्वीकार नहुने बताए। ‘अमेरिकाले ताइवानसँग कुनै पनि औपचारिक सम्बन्ध नराखोस् भन्ने चीनको चाहाना हो,’ उनले भनेका छन्।