प्रचण्डका अगाडि प्रधानमन्त्री ओलीले दिउसै रात पारेपछि…

शुक्रबार, २८ कार्तिक २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन । प्रचण्डले ओलीले दिएको १० पेज लामो पत्रको जवाफ फर्काउँदै दिउसै रात पार्न खोजेको आरोप लगाएका छन ।

ओलीले कात्तिक २५ मा पठाएको १० पन्ने पत्रको जवाफमा प्रचण्डले ७ पन्ने जवाफी पत्र पठाउँदै प्रधानमन्त्रीले दिउँसै रात पार्ने जाली एवं झुट कुरा गरेको आरोप लगाएका छन । शुक्रबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीलाई बुझाइएको जवाफी पत्रमा प्रचण्डले यस्तो आरोप लगाएका हुन ।

मन्त्रिपरिषद पुनर्गठन र राजदूतहरुको नियुक्ति प्रचण्डसँग सल्लाह गरेरै गरिएको भन्ने प्रधानमन्त्रीको भनाइमा आपत्ति जनाउँदै प्रचण्डले ओलीलाई लेखेको जवाफमा भनेका छन्, ‘सबै कुरालाई सल्लाहले गरेको हुँ भन्नु यो त दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड ?’

आफूले ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई मन्त्रीबाट हटाउनुपर्छ नभनेको, बरु बादललाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव राखेको र प्रदीप ज्ञवालीलाई पनि नहटाउन भनेको प्रचण्डले ओलीलाई लेखेको पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले राति–राति बालुवाटारबाट गुटबन्दी गरेको तर, आफूलाई गुटबन्दीको आरोप लगाएको भन्दै प्रचण्डले प्रश्न गरेका छन्, ‘अर्काको आङको जुम्रा देख्ने, आफ्नो आङको भैसी पनि नदेख्ने भनेको यही होइन र ?’

प्रधानमन्त्री ओलीले चिप्ला कुरा गर्ने गरेको बताउँदै प्रचण्डले त्यसलाई ‘विष भरिएको घैंटोको मुखमा रहेको अमृत’ को उपमा दिएका छन् ।

सचिवालयका सदस्यहरुलाई वितरण गरिएको पत्रमा भनिएको छ, मैले दुःखका साथ भन्नुपर्छ कि यो चिप्ला र गुलिया शब्दजालभित्र प्रस्तुत गरिएको झूठको पुलिन्दा हो । अनुभूतिको तहमा मैले यसलाई ‘विष कुम्भम् पयो मुखम्’ का रुपमा महसुस गरें ।

प्रधानमन्त्री ओलीले आफूमाथि अत्याचार गरेको बताउँदै प्रचण्डले पत्रमा भनेका छन्, ‘अति गर्नू अतिचार नगर्नू भन्छन्, यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, इन अफ इज इनअफ ।’