बाइडेनलाई पहिलो गासमै ढुङ्गा, ट्रम्पको अभिव्यक्तिले विश्वभर तरङ्ग
एजेन्सी – अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले जोर्जिआ राज्यमा पनि जितेको प्रक्षेपण गरिएको छ । सन् १९९२ पछि उक्त राज्यमा जित्ने बाइडेन पहिलो डेमोक्र्याटिक उम्मेदवार हुन्।
जोर्जिआमा हातैले गनेर फेरि मतगणना गरिएको थियो। यो मतपरिणामले बाइडनको विजय फराकिलो भएको बीबीसीले जनाएको छ। बीबीसीले गरेको प्रक्षेपणमा बाइडेनले जोर्जिआ राज्यमा जित हासिल गरेको र उनले ३०६ इलेक्टर कलेज मत प्राप्त गरेका छन ।
पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले नोर्थ क्यारलाइनामा जित्ने प्रक्षेपण गरिएको छ। त्यो हुँदा उनको २३२ इलेक्टरल मत पुग्नेछ।
पहिलो गासमै ढुङ्गा
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनलाई पहिलो गासमै ढुङ्गा लागेको छ । उनी निर्वाचित भएपनि उनलाई सरकार बनाउन संविधानले दिएको समय सीमा भन्दा केही ढिलो हुने भएको छ ।
ट्रम्पले सहजै सरकार हस्तान्तरण गर्न आनाकानी गरेका कारण नयाँ सरकार बन्न समय लाग्ने बीबीसीले जनाएको छ ।
आफ्नो पराजय स्वीकार गर्न नमानेका ट्रम्पले पहिलो पटक ज्यानुअरीमा नयाँ सरकार आउन सक्ने सङ्केत दिएका छन्। कोरोनाभाइरस कार्यदलले ह्वाइट हाउस परिसरमा गरेको एउटा प्रेस ब्रीफिङमा बोल्दै उनले भने, ‘यो प्रशासन लकडाउनमा जानेछैन।’
‘आशा गरौँ….भविष्यमा जे हुन्छ। कसलाई के थाहा कुन सरकार हुन्छ। समयले नै बताउला,’ उनले भने।
तर उनले बाइडनको नाम लिएनन्। उनले संवाददाताहरूबाट प्रश्न पनि लिएनन्। कुनै प्रमाण नदेखाई उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउने गरेका छन्।
ट्रम्पलाई आफ्नो पराजय स्वीकार्न र सत्ता हस्तान्तरण गर्न तयार हुन दबाव बढिरहेको छ।