यी हुन आफ्नै छोरी र श्रीमतीलाई एसिड प्रहार गर्ने शाह
जनकपुरधाम – धनुषामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीमाथि एसिड प्रहार गरेका छन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर २० का सञ्जिव साहले आफ्नी पत्नी र टारीलाई एसिड प्रहार गरेका हुन ।
जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती साह र उनकी छोरी तीन बर्षीया रिया साहमाथि साहले शनिबार बिहान एसिड प्रहार गरेका हुन् । साह दम्पति पछिल्लो समय छुट्टाछुट्टै बस्दै आएका थिए ।
शनिबार बिहान पत्नीको कोठामा पुगेका २४ वर्षीय सञ्जिवले आमा छोरीमाथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए । आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको बिभिन्न ठाउँमा एसिड परेको छ । एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको सिग्देलले बताए ।
छोरी रियाको टाउको र बायाँ हातमा एसिड परेको छ । आमाछोरीको जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पत्नी र छोरीमाथि एसिड प्रहार गरी भागेका सञ्जिबलाई जनकपुर ४ संकटमोचन मावि नजिकबाट पक्राउ गरिएको प्रहरी निरीक्षक सिग्देलले बताए ।