प्रचण्डले ल्याएको एकल प्रस्तावबारे बामदेवले मुख खोले, खुलाए गम्भीर रहस्य

शनिबार, २९ कार्तिक २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले गम्भीर रहस्य खुलाएका छन । शुक्रबारको सचिवालय बैठकमा पेश गरेको प्रचण्डको एकल प्रस्तावका बारेमा उनले रहस्य खोलेका हुन ।

उनले उक्त प्रस्ताव प्रचण्ड एक्लैले नल्याएको प्रस्ट पारेका छन् । उक्त प्रस्तावलाई केपी ओली पक्षधरका केही नेताहरुले प्रचण्डले फिर्ता लिनुपर्ने भनेर कोकोहोलो मच्चाइरहेका बेला उपाध्यक्ष गौतमले सो प्रस्ताव प्रचण्डसहित ५ जना नेताको छलफल र सहमतिमा तयार भएको बताएर रहस्य खोलेका हुन ।

‘प्रचण्डले सचिवालय बैठकमा पेश गर्नुभएको राजनीतिक प्रस्ताव उहाँले एक्लै ल्याएको होइन’, उपाध्यक्ष गौतमले भने, ‘ त्यो हामी पाँचै जनाको छलफल र सहमतिमा तयार भएको प्रस्ताव हो ।’

त्यस्तै गौतमले उक्त प्रस्ताव पार्टी ध्वंश गर्न नभई केपी शर्मा ओलीलाई सच्याउनका लागि आएको पनि जनाएका छन् । ‘त्यो प्रस्ताव ध्वंश गर्न हैन, केपी कामरेडलाई सच्याउनका लागि आएको हो । उहाँ सच्चिनुबाहेक नेकपासँग अर्को कुनै समाधान छैन’, गौतमले भने ।

शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पेज लामो राजनीतिक प्रस्ताव पेश गरेका छन् । तर उक्त प्रस्तावलाई लिएर ओली निकटका केही नेताहरुले फिर्ता लिन भनिरहेका छन् ।

स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले एकल प्रस्ताव पेश गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै फिर्ता लिन आग्रह गरेका छन् । त्यस्तै ओलीका प्रेस सल्लाहकार रहेका सूर्य थापाले पनि उक्त प्रस्ताव फिर्ता नलिँदासम्म संवाद नै अघि नबढ्ने दावी गरेका छन् ।