ओलीविरुद्ध हदैसम्मको एक्सन लिने तयारीमा प्रचण्ड

शनिबार, २९ कार्तिक २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री एबम् अर्का अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा कडा एक्सन लिने तयारी गरेका छन । प्रचण्डसहित बरिष्ठ नेता माधबकुमार नेपाल, झलनाथ खनाल, पार्टी उपाध्यक्ष बामदेव गौताम र प्रबक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीका विरुद्धमा कडा एक्सन लिन लागेका हुन ।

३ मंसिरका लागि बोलाइएको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरिएको छ । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले सचिवालय बैठकमा पेश गर्नेगरी प्रधानमन्त्रीलाई फिर्ता बोलाउने विषयको प्रस्ताव तयार पारेको बुझिएको छ ।

बैठक अगावै नेकपा नेताहरुबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चल्न थालेपछि पार्टी अध्यक्ष प्रचण्डले अरु ५ जना सचिवालय सदस्यहरुलाई बोलाएर यस्तो प्रस्ताव तयार गरेको एक सचिवालय सदस्यले बताए ।

शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुलाई लेखिएको पत्र र प्रचण्डको प्रत्युत्तर पत्रमाथि सार्वजनिक बहस चलेको छ । प्रचण्डले सचिवालय बैठकमा पेश गरेको एकल प्रस्तावको विषयलाई लिएर पनि बहस भइरहेको छ । ओली निकटस्थहरुले प्रचण्डमाथि गुटबन्दीको आरोप लगाएका छन् । कतिपय नेताहरुले नेकपा बिघटनको संघारमा पुगेको आशयसहितको विषय उठाएर लेख्न थालेका छन् ।

नेकपाभित्र तिहारलगत्तै हुने सचिवालयमा ठूलै टकराव हुने स्पष्ट भएको छ । ओली र प्रचण्ड दुवै पक्षले आ –आफ्नो तयारी गरेका छन् । ओली कुनै हालतमा अध्यक्ष र प्रधानमन्त्री पदबाट नहट्ने अडानमा छन् । उनले सार्वजनिक रुपमा यसबारे अभिव्यक्ति दिदै आएका छन् ।

ओलीविरोधी समूहले भने ओलीसँग सहमतिको न्यूनतम बिन्दु तय गरिरहेको बुझिएको छ । सहमतिका लागि ओलीलाई अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पदमात्र रोज्न भनिने बुझिएको छ । एक व्यक्ति एक पदको नीति अनुसार प्रस्ताव तयार गर्नेबारे प्रचण्डलगायतका नेताहरु लगभग टुंगोमा पुगेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

पार्टी दुर्घटनाबाट जोगाउन ओलीसामु सहमतिको बिन्दु प्रस्ताव गरिने भएको छ । यसलाई अस्वीकार गरेमा पार्टी कमिटीबाट निर्णय गराएर सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी प्रचण्डसहितका नेताहरुको छ । नेकपाभित्र सचिवालय बस्दै गर्दा स्थायी कमिटी बैठकको पनि चर्चा छ । यसलाई ओली पक्षले आफूहरुमाथिको प्रहारको तयारीका रुपमा बुझेको छ ।