भारतलाई काउन्टर दिन चीनले ल्यायो नयाँ योजना, तनावमा मोदी

आइतबार, ३० कार्तिक २०७७

काठमाडौं – भारतलाई काउन्टर दिनका लागि चीनले नयाँ योजना प्रस्ताव गरेको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) निष्क्रिय रहेका बेलामा चीनले भारतसँग सीमा जोडिएका ४ देशसँग सहकार्यको प्रस्ताव गरेको हो ।

कोभिड–१९, बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र दीर्घकालीन विकासका एजेण्डाका विषयमा दक्षिण एसियाली मुलुकहरु नेपाल, बंगलादेश, श्रीलंका र पाकिस्तानसँग सहकार्य अगाडि बढाएको छ ।

चीनले यी मुलुकहरुसँग एक संयन्त्र नै निर्माण गरेर दीर्घकालीन सहकार्य अगाडि बढाउन चाहेको देखिन्छ । यही साता चीनले चार महिनाको अवधिमा दोस्रो पटक दक्षिण एसियाली मुलुकहरुसँग छलफल गरेको छ ।

चिनियाँ उपविदेशमन्त्री लुओ झाओ हुईले नेतृत्व गरेको पछिल्लो बैठक नोभेम्बर १० मा भएको थियो । नेपालसहित अन्य मुलुकका विदेश सचिवहरु सो बैठकमा सहभागी थिए ।

पछिल्लो बैठकको समन्वय श्रीलंकास्थित चिनियाँ दुतावासले गरेको थियो । सो बैठकले पाँच मुलुकहरुको सहकार्यलाई ‘दी फाइज पार्टीज’ भनेको छ । भारतको ‘परम्परागत प्रभाव क्षेत्र’ रहेको भनिएका यी मुलुकहरुसँग द्वीपक्षीय सहकार्यलाई कसिलो बनाएको चीनले अब उपक्षेत्रीय अवधारणलाई अगाडि बढाउन खोजेको देखिन्छ ।

बैठकपछि चीनले जारी गरेको विज्ञप्तिका अनुसार यो मुख्य उदेश्य कोभिड १९ लाई पराजित गर्नु, यस क्षेत्रका जनताको स्वास्थ्य र ज्यानको प्रवर्द्धन गर्नु र त्यसपश्चातको आर्थिक र सामाजिक रिकभरीलाई तीव्रता दिनु र विकासका प्रयासलाई अगाडि बढाउनु हो । पाँच मुलुक अर्को चरणको वैठक पनि छिट्टै गर्न सहमत भएका छन् ।

कोभिड १९ मा सहकार्यबारे बीआरआईमा संयुक्तरुपमा सहकार्य गर्ने भन्ने सम्बन्धमा पाँच देशका बीचमा छलफल भएको थियो । नेपाल, बंगलादेश, श्रीलंका र पाकिस्तान चारवटै दक्षिण एसियाली मुलुकहरु बीआरआईमा सहभागी भइसकेका छन् ।

यी मुलुकहरुमध्ये बीआरआई कार्यान्वयनमा पाकिस्तान सबैभन्दा अगाडि छ । पाकिस्तानमा कार्यान्वयन भइरहेको चाइना पाकिस्तान इकोनोमिक करिडोर(सिपेक)लाई बीआरआई अन्तर्गतको एउटा ठूलो परियोजनाका रुपमा अगाडि बढाएको छ । पाकिस्तानले दक्षिण एसियाका अन्य मुलुकहरुलाई पनि सिपेकको अनुभवबाट सिक्न र लाभ लिनका लागि समेत आग्रह गरिरहेको छ ।

त्यसबाहेक अन्य क्षेत्रीय र विश्व चासोका विषयहरुमा समेत पाँच मुलुकले छलफल गरेका छन् । बैठकपछि जारी नोटका अनुसार सबै मुलुक बहुपक्षियताको सिद्धान्तलाई अगाडी बढाउन, कोभिड(१९ विरुद्धको लडाईमा विश्व स्वास्थ्य संगठनलाई प्रभावकारी नेतृत्वदायी भूमिका खेल्न पूर्णरुपमा सहयोग गर्ने र कोभिड १९ लाई राजनीतिकरण गर्ने प्रयसाको शशक्त विरोध गर्ने सम्बन्धमा समेत पाँचै मुलुक सहमत भएका छन् ।

चीनले भारतलाई चारैतीबार घेर्नका लागि रणनीतिक रुपमा यो योजना अगाडि सारेको भन्दै भारतमा हलचल मच्चीएको छ । दक्षिण एसियामा भारत र चीनको सीमानामा ठूलो विवाद छ । भारतले अमेरिकासँग सहकार्य गर्दै चीनमाथि प्रहार गर्ने रणनीति लिएपछि चीनले भारतसँग सीमा जोडिएका अन्य मूलकहरुसँग सहकार्य गर्दै यसको काउन्टर जवाफ दिएको हो । यस विषयमा अहिले भारतीय कुटनीतिज्ञहरु र गुप्तचर निकायका पदाधिकारी विभिन्न देशलाई प्रभावमा पार्न डौडधुप गरिरहेका छन ।