आज भाइटीका, कता फर्केर टिका लगाउने ?
काठमाडौं – आज तिहारको मुख्य दिन । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।
भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्ने गरिएको छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ ।
त्यसैले भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दायाँ पर्नेछ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ ।
अहिले चन्द्रमा वृश्चिक राशीमा छन् । वृश्चिक राशीमा रहँदा चन्द्रमा उत्तर दिशामा हुन्छन् । त्यसैले टीका थाप्ने व्यक्ति सके उत्तर, नसके पश्चिम दिशा फर्किएर बस्नुपर्छ भनिएको पञ्चाङ्गकारहरु बताउँछन् ।