मोटरसाइकल दुर्घटनामा परी पत्रकार लामिछानेको मृत्यु
दाङ – दाङमा मोटारसाइल दुर्घटना हुँदा एक जना पत्रकारको मृत्यु भएको छ । स्कारपियो गाडीको ठक्करबाट रेडियो हाम्रो पहँचमा कार्यरत पत्रकार मनिषा लामिछानेको मृत्यु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी निवासी २२ वर्षीया मनिषा लामिछाने दाईसँग बाइकमा सवार थिइन । सोमवार दिउँसो साढे १ बजे विजौरीबाट तुलसीपुरतर्फ मोटरसाइकलमा आफ्ना दाजुसँग आउँदै गर्दा तुलसीपुरको गुल्मचोक नजिकै रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई लु.अ.अ.क. ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
स्कारपियोको ठक्करबाट मनिषा र मोटरसाइकल चालक उनका २४ वर्षीय दाजु बिराज लामिछाने घाइते भएका थिए। घाइते दुबै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार गरेर थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको थियो।
उपचारकै क्रममा मनिषाको दिउँसो करिब साढे ४ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए। उनको दाजुको अवस्था सामान्य रहेको छ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।