काठमाडौंमा भिषण आगलागी, एक जनाको मृत्यु

मंगलबार, २ मंसिर २०७७

काठमाडौं – काठमाडौँको कपन बालुवाखानी चोकमा भिषण आगलागी भएको छ । आगलागीमा परी एक जनजाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

स्थानीय नारायणबहादुर बस्नेतको घरमा आगलागी हुँदा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ का कृष्णबहादुर तामाङको मृत्यु भएको हो ।

३९ वर्षे कृष्णबहादुरलाई तिहारको टीका लगाउनका लागि नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ्ग र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका हुन् ।

उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । विपनाको शरीरको ३० प्रतिशत तथा दावाको १२ प्रतिशत भाग जलेको डाक्टरले जानकारी दिएका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको बताइए पनि यकिन कारण नखुलेको प्रहरीले जनाएको छ ।

राति पौने १ बजेतिर आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दुई बजे तिर आगो नियन्त्रणमा लिइएको थियो ।