राष्ट्रपतिसँग प्रचण्डको २ घण्टा छलफल, प्रचण्डलाई नयाँ प्रस्ताव
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै दुई घण्टा भेटवार्ता भएको छ । राष्ट्रपतिले बोलाएपछि शीतलनिवास पुगेका प्रचण्ड दुई घण्टाको छलफल पछि शीतलनिवासबाट बाहिरिएका थिए ।
नेकपामा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड र भण्डारीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली र महासचिव विष्णु पौडेल तथा उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर नेकपाको विवादप्रति चासो राखेकी थिइन् ।
प्रचण्डसँगको भेटमा पनि राष्ट्पति भण्डारीले मुलुकको समसामयिक विषयका साथै नेकपाभित्रको बढ्दो विवादका बारेमा छलफल भएको बुझिएको छ । ‘अध्यक्ष प्रचण्डसँगको करिव २ घण्टाको भेटवार्तामा राष्ट्रपति भण्डारीले सत्तारुढ दलमा बढेको विवादप्रति जिज्ञासा र चासो राख्नु स्वभाविक हो । अध्यक्ष प्रचण्डसँग पनि सोही विषयमा कुराकानी भएको हो’, शीतलनिवास स्रोतले भन्यो, ‘ अवश्यपनि यस्तो बेलामा राष्ट्रपतिको प्रयास भनेको समझदारी निर्माण गर्ने कुरामै हुन्छ सोही अनुसार प्रचण्डसँग पनि भेटवार्ता भएको हो ।’
राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डसँगको कुराकानीमा पार्टी विभाजन भए प्राप्त उपलव्धिहरु पनि गुम्ने अवस्था आउनसक्ने भन्दै मिलेर जान सुझाव दिएकी थिइन् ।
प्रचण्डलाई आगामी अधिवेशनबाट अध्यक्ष बन्नेगरी लाग्न सुझाव दिएकी छिन् । त्यसमा आफूले सहयोग गर्ने बचनसमेत दिएको श्रोतको दावि छ । ‘तपाईंहरु मिलेर जाँदा नै राम्रो हुन्छ । पार्टी फुट्दा आन्दोलन र उपलब्धि पनि गुम्ने खतरा हुन्छ भन्ने सदासयता नै राष्ट्रपतिको हो’, प्रचण्डलाई राष्ट्रपतिले दिएको सुझावलाई उदृत गर्दै स्रोतले भन्यो, ‘बरु चाँडो महाधिवेशन गर्नुस् र एकल अध्यक्ष तपाईंनै बन्दा पनि हुन्छ । तपाईंहरु दुईजना मिल्यो भने जस्तै कठिन कामपनि सहजै हुन्छ । त्यसैले त्यतातर्फ विचार पुर्याएर निर्णय गर्दा राम्रो हुन्छ । म तपाईलाई यसका लागि सहयोग गर्न तयार छु ।’
‘राष्ट्रपतिले समसामयिक विषयमा जिज्ञासा र चासो राख्नुभयो । मैले उहाँका कुरा सुनेर फर्किएँ, धेरै बोलिनँ’, बालुवाटारबाट फर्केपछि आफू निकट नेतालाई प्रचण्डले भेटबारे संक्षिप्त बताएका थिए ।