आजैबाट सुरु गर्नुहोस्, समयले कहिले पर्खदैन

बुधबार, ३ मंसिर २०७७

काठमाडौं – सपनाले मात्र जीवन चल्दैन । सपनाको बाटोतिर हिँड्नु पनि पर्छ । जब म धेरै धन कमाउँछु, तब यो काम सुरु गर्छु । जस्तो, जब म सँग १० लाख रुपैयाँ हुन्छ , तब यो मात्र व्यापार सुरु गर्छु भन्नु भनेको म व्यायाम या डाइटिङ तब सुरु गर्छु जब मेरो वजन २० केजी घट्छ भन्नु जस्तै हो । म पोखरीमा त्यो बेला पस्छु जब पौडिन जान्ने हुन्छु भन्नुहुन्छ भने तपाई कहिले स्विमिङ गर्न जान्नु हुन्न न त तपाईको वजन नै घट्छ । अल्छीहरु प्रायः घर बनाउने नक्सा बनाउछन् तर घर कहिलै बनाउदैनन् । सपना देख्छन् तर सुरुवात गर्दैनन् ।

पहिलो पाइलो उठाउने हिम्मतै हँुदैन् उनीहरुमा । घरको बारेमा थाहा छ, कसरी बनाउने भन्ने पनि थाहा छ । ब्लुप्रिन्ट पनि तयारी छ तर अहँ, घर कहिल्यै बनाउँदैनन् । के ब्लुप्रिन्टमा बस्न सकिन्छ ? जब बर्षा हुन्छ, तब ब्लुप्रिटले पानी रोक्न सक्तैन । जब घाम लाग्छ, तब ब्लुप्रिन्ट छाया दिदैँन । घरै चाहिन्छ, घामपानी, हावाहुरीबाट जोगिन । झुपडी नै सही तर घर त चाहिन्छ नै । कुनै ठूलो आर्किटेक्वरको आवश्यकता छैन । सानो भए पनि सरुवात गरिहाल्नुस् । झुपडीले पनि छाया दिन्छ । त्यसैलाई सुरुवात मान्नुहोस्, एक दिन महल अवश्य बन्छ ।

नेपालमा राम्रो क्रिकेट गा्रउन्ड छैन । यदि हाम्रा खेलाडीहरुले ‘जुन दिन राम्रो ग्राउन्ड बन्नेछ तब मात्र खेल्नेछौँ’ भनेर बसेका भए आज नेपाल यसरी च्याम्पियन बन्ने थिएन । विश्वकप खेल्ने हैसियतमा पुग्ने थिएन । तपाइ अहिले जहाँ र जुन ठाउँमा हुनुहुन्छ, त्यहीँबाट सुरु गर्नुहोस् । पहिलो पाइला चाल्नुहोस् त्यहीँ पाइलो एक दिन विशाल छलाङमा परिणत हुनेछ । टालटुले नीतिबाट बच्नुस्, वहाना बनाउन छोड्नुहोस् । भोली होइन, आज राम्रो साइत हो । आजैबाट सुरु गर्नुहोस् ।

यदि तपाईमाथि अचानक कुनै जनावरले आक्रमण गर्छ भने त्यो बेला तपाई ‘म सँग बन्दुक छैन’् भनेर चुपचाप तपाई त्यो जनावरको खुराक बन्नुहुन्न । जे छ त्यसैको उपयोग गर्नुहुन्छ । सके भाग्नुहुन्छ, नसके हात खुट्टाको प्रहार गर्नुहुन्छ, बेल्ट खोलेर हान्नुहुन्छ । जे होस् आफूलाई बचाउने प्रयास गर्नुहुन्छ । जिन्दगीमा पनि यहीँ लागू हुन्छ । यदि ‘म फलानो जस्ती अग्ली छैन्’ भनेर हात बाधेँर बसेकी भए रेखा थापा आज नेपालकी टप नायिका हुने थिइनन्, न त म रिषि कपुर जस्तो चकलेटी छैन्, कसरी राम्रो कलाकार बन्छु भनेर हीनताले घरमा बसेको भए ओमपुरी महान् कलाकार बन्ने थिए ? त्यस कारण हामीसँग के छैन, त्यो कुरामा ध्यान दिन छोडौं, जे छ त्यसको. उपयोग सुरु गरौँ । त्यसैले हामीलाई एक दिन महान् बनाउनेछ ।

तपाई सँग १० हजार छ भने त्यसैबाट व्यापार सुरु गर्नुहोस् । ‘जुन दिन १० लाख हुन्छ अनि मात्र व्यापार थाल्छु’ भनेर बस्नुहुन्छ भने सम्भव छ , तपाई पूरा जिन्दगी १० लाख पर्खै मर्न सक्नुहुन्छ । तर १० हजार, अझ त्योभन्दा पनि कम स्तरबाट व्याापार सुरु गर्नेहरु अरबपति बनिसक्छन् । ठीक समयमा काम नथाल्नुको परिणाम तपाईको पूरा जिन्दगी दुख र गरिबीमा बित्छ ।