सुर्खेतमा तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिएर भागेका दुई जना पक्राउ

बिहिबार, ४ मंसिर २०७७

काठमाडौं – सुर्खेतमा तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिएर भागेका दुई जना पक्राउ परेका छन्। बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–५ चिसापानीका जीवन चौहान र नविन भनिने अमर सलामी छन्। कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय अगाडिको बाटोमा मोटरसाइकलले बालकलाई ठक्कर दिएर उनीहरू भागेका थिए।

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगर–१ का ३ वर्षीय बालक समिर नेपालीको मृत्यु भएको छ। ती बालकको २ गते नै उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

बालकका आफन्तले पीडकलाई पक्राउ गर्न माग गर्दै बुधबार बिहानदेखि नै आन्दोलन गरेका थिए।

पक्राउ परेका दुई जनामाथि सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।