धैर्यताले बनायो सरोज लामिछानेलाई चर्चित गायक

आइतबार, ७ मंसिर २०७७

काठमाडौं – तपाईं लोकदोहोरीको पारखी हुनुहुन्छ ? वा पाखापखेरीका भाकामा छमछ्मी नाच्न रुचाउनुहुन्छ भने पक्कै तपाईंले पछिल्लो समय निकै चर्चित गीत ‘हे मेरो सानू’ सुन्नुभएको होला । युट्युबमा ९२ लाख भन्दा बढीले हेरिसकेको यो गीत बिबाह, पार्टी तथा अन्य समारोहमा सर्बाधिक नाचिने गीतहरु मध्य एक हो । यसका सर्जक तथा गायक हुन सरोज लामिछाने । तिनै सरोज लामिछानेलाई आफ्नो गायन क्षेत्रमा शिखर सम्म यो गितले पुर्याएको छ। यस गीतका अलबा लामिछानेका कर्कलाको गाभा, दुई खोली दोभान, बदाम खाको सुन्तला छोडाको, सित्तल छाँया लगायत अन्य थुप्रै गीत चर्चामा छन् । उनको अर्को गीत ‘सालको पात हे माया टपरी दुना’ भित्र समेटिएको टुक्का ‘पानी छैन ए माया म बस्ने ठाउँमा, कोठा खोज्देउ तिम्रै घर छेउछाउमा’ ले टिक्टक र अन्य सामाजिक संजाल तथा टिभी सिरियलहरुमा राम्रै स्थान पाएको थियो । काठमाडौंको यथार्थ समस्या बोकेका यि लाइनहरु अझै सर्बप्रिय छन् । यस्ता मिठा गीतहरु पस्केर काँठ क्षेत्रमा स्थापित भएका गायक सरोज लामिछानेको संघर्ष र सफलताको कथा झन चाखलाग्दो छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३, फटकशिलामा जन्मिएका लामिछाने सानै देखि गायनमा रुची राख्थे। स्कूले जीवनमासमेत उनलाई पढाईले भन्दा बढी गायन र अतिरिक्त क्रियाकलापले तान्थ्यो। स्कूलमा हुने विभिन्न कार्यक्रममा उनको गायनको खुलेर तारिफ हुन्थ्यो । शिक्षकहरु र साथीहरू उनलाई यसमा लागिरहन उर्जा र प्रोत्साहन दिन्थे । गाउँमा एसएलसी सम्मको अध्ययन सकेसगै उनी कलाकार बन्न काठमाडौ छिरे। व्यवसायीक कलाकार बन्ने उदेश्य राखेर सहर छिरेका उनलाई कलाकार कसरी बनिन्छ भन्ने थाहा थिएन । गीतका क्यासेट र सिडि बेच्न राखेका हरेक पसलमा यहाँ गित रेकर्ड गरिन्छ हो भनेर उनी सोध्न पुग्थे।

काठमाडौं छिरेर संघर्ष गर्दा–गर्दा दिक्क लागेर कुनैदिन गायक बन्न सजिलो छैन् भन्दै निरास भएका थिए उनी । ‘पछि गायक गोकुल राउतलाई भेटेपछि केही आशा पलायो । र अब आफू गायक बन्न सक्छु भन्ने आँट पनि आयो’, उनी भन्छन्, ‘राउतको पुजा म्युजिक कम्पनीमा गएपछि गीत रेकर्डिङको बारेमा धेरै कुरा बुझेँ।’ त्यो समयमा उनलाई भोजराज काफ्लेको प्रोत्साहनले पनि ठूलो भुमिका खेलेको थियो ।

दाजुभाइनै गायक बन्न भनेर काठमाडौं आएका उनी आफ्ना दाजु सन्तोषसँग सहकार्य गरी पहिलो एल्बम निकाल्ने निश्कर्षमा पुगे। क्यासेट बेच्ने त्यो जमानामा गीत निकालेर चलेपछि मालामाल भइन्छ भन्ने सोच राखेका उनलाई त्यतिबेका झड्का लाग्यो जतिबेला उनीहरुको पहिलो गित ‘नरुनु है ए आमा’ निकाल्ने बारही म्युजिक कम्पनीनै गायब भयो। आफैले २० हजार लगानी गरेर निकालेको त्यो एल्बमको करिब ५ हजार डबिङ्को रोयल्टी पाउनु त परको कुरा भिडियोसमेत चित्तबुझ्दो बनाइदिएन त्यो कम्पनीले । उनी आफूले बेच्छु भनी लगेको एक सय पिस क्यासेट पनि बजारकै भाउ तिरेर कम्पनीसँग लगेका थिए। यो गीतबाट एउटा गित गाएछ है भन्ने भन्दा अरु ठोस उपलब्धी भएन् । त्यसो हुँदापनि एन्टिभी प्लस मा करिब १५ दिन आफ्नो गीत बजेकोले उनी खुसी भए।

यी संघर्षका दिनमा दाजुभाइ मिलेर अरु केही एल्बमहरु पनि आफ्नो लगानीमा निकाले। ती गीतहरुमा पनि अपेक्षाकृत सफलता नमिलेपछि दाइ सन्तोषले जिबिकोपार्जनका लागि अरुनै केही गर्ने सोच बनाए । दाईले कुनै जागीर खाने, कुनै व्यबसाय गर्ने वा कुनै अर्थोपार्जन हुने काम गर्ने प्रस्ताव भाइ सरोजलाई सुनाए । सरोज गीत संगितबाट कुनै पनि हालतमा पलाएन नहुने सोचमा थिए। जिन्दगीमा सधै एउटा सूत्र पालना गर्दै आएको बताउँदै उनी भन्छन्, ‘लामो यात्रामा हिडेको मान्छे लड्छ, तर लडियो भनेर उठेर हिड्न छोडनु हुँदैन ।’ यहि सिद्धान्तमा अडिग भएर आफूले त्यो कठिन समयमा कुनै पनि हालतमा आफू यो क्षेत्रमा सफल र स्थापित हुन्छु भन्ने दृढ संकल्प गरेको र त्यसैको नतिजा स्वरुप आज यो स्थानसम्म आइपुगेको उनको भनाई छ ।

तर त्यो बेलाको उनीहरुको अबस्था भने उनका दाइ सन्तोषले भनेजस्तै थियो। अलिअलि भएको पैसापनि गीत निकाल्न खर्च गरेका उनीहरुले त्यसबाट आम्दानी गर्न नसकेपछि आर्थिक संकटमा फसे। ती दुःखका दिनमा खान, लाउन र कोठामा बस्न समेत समस्या परेको उनी सम्झिन्छ्न् । गायक बन्नकै लागि कति दिन भोको पेट हिड्नुपरेको अनुभव उनीसँग छ । त्यसबाहेक परिवारको धेरै पढोस भन्ने चाहनासमेत यो क्षेत्रमा लागेकाले पूरा गर्न उनले सकेनन् । जीवन चलाउनकै लागि उनले पसलमा समेत काम गर्थे।

सञ्चार क्षेत्रमा उच्च लगाब भएका कारण उनले रेडियो मध्यपूर्बमा लोक संगीत कै कार्यक्रम चलाउने गरी सञ्चार कर्म सुरु गरे। त्यसपछि रेडियो सेफर्ड हुँदै अरनीको टेलिभिजनमासमेत लोक दोहोरो गीतकै कार्यक्रम चलाए। अहिले पनि रेडियो सिटीसहित अन्य विभिन्न एफएम स्टेसनहरुबाट एकसाथ आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ११ बजेसम्म बज्ने लोकप्रिय कार्यक्रम ‘स्वरका थुङ्गाहरु’ सरोजकै आवाजमा बज्छ। यसरी सञ्चार माध्यमबाट आफ्नै क्षेत्रको कार्यक्रम चलाउदा दर्शक स्रोतासँग सामिप्यता बढेको र अझै बढी माया पाएको उनी बताउछन् ।

कलाक्षेत्रमा अग्रजलाई सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्ने सरोज यो पेशाबाट पूर्ण सन्तुष्ट भने छैनन् । यती सफल हुँदापनि उनी सन्तुष्ट हुन नसक्नुको कारण समग्र संगीत क्षेत्रकै चिन्ताले हो । हरेक ठाँउमा रहेको बिचौलियाकरणले गर्दा राम्रा र बुझेका प्रतिभा भन्दा पनि सस्ता र केही दिनका भाइरलहरुलाइ प्राथमिकता दिइने गरेको छ जुन दुःखद हो। काँठे क्षेत्रमामा नवराज घोरासैनी र सुदुरपश्चिम भेगतीर नन्दकृष्ण जोशी जस्ता प्रतिभाहरुको योगदान अतुलनिय रहेको बताउदै यस्तै प्रतिभा भाबी दिनहरुमा समेत आउनुपर्ने उनको बुझाइ छ। एउटा कलाकारलाई सफल भएपनि जीवनभरी यहि क्षेत्रबाट बाच्न पुग्ने वातावरण अझै नभएको उनी बताउँछन् ।

सरोज गायक मात्र नभइ सर्जक, संकलक पनि हुन् । उनी बिहान, बेलुका उपयुक्त समय पाउने बितिकै लेख्न वा रियाज गर्न बसिहाल्छन् । आफैले सिर्जना गरेको चिज पनि सोचेजस्तो आएन भने उनी आफैं सन्तुष्ट हुदैनन् । सिर्जनाको मोल नभए पनि आफूले परिश्रमको फल लिएर आफ्ना सिर्जनाहरु अरुलाई गाउनसमेत दिएका छन् उनले। सिर्जना गर्दा अझ बढी आनन्द लाग्छ उनलाइ।

यो क्षेत्रका नवप्रवेसीहरुलाई राम्रोसँग जानेर बुझेरमात्र आउन उनको सुझाब छ । अरु सफल भएको देखेर आफूपनि त्यतै लाग्दा त्यसले राम्रो फल नदिने बताउँदै आफूसँग क्षमता छ भने जति चोटी असफल भएपनि फेरी प्रयास गरिरहन उनी सुझाव दिन्छन् । यसो गर्दा एकदिन सफलताले पक्कै ढोका ढकढक्याउने उनको धारणा छ।