जब तपाईँ दुःख बाँढ्नुहुन्छ यो कम हुन्छ, यदि सुख बाँढ्नुहुन्छ भने यो अझै बढ्छ

सोमबार, ८ मंसिर २०७७

काठमाडौं – हाम्रो बानी के छ भने आफूले गरेको गल्ती र अरुले गरेको त्यही प्रकारको गल्तीलाई हामी भिन्न प्रकारले लिने गर्छौ । सकारात्मक चरित्र राख्नका लागि सहानुभुति आवश्यक पर्छ । सहानुभुतिको भावना भएको मान्छे आफूलाई प्रश्न गर्ने गर्छन्, ‘मलाई अरुले यस्तो व्यवहार गर्यो भने कस्तो लाग्छ ?’

एउटा बालक कुकुरको छाउरो किन्न पसलमा गयो । चारवटा छाउराहरु विक्रीको लागि राखिएको थियो र तिनको मूल्य ५० डलर थियो । एउटा छाउरो कुनामा एक्लै बसिरहेको थियो । त्यस केटाले पसलेलाई यो कुनाको छाउरो विक्रीका लागि हो की भनेर सोध्यो र उसले त्यो किन कुनामा एक्लै बसिरहेको भनी जान्न खोज्यो । पसलेले त्यो छाउरो अपाङ्ग भएको र विक्रीको लागि नभएको बतायो ।

केटोले फेरी सोध्यो, ‘त्यो छाउरोमा के कमजोरी छ ? पसलेले त्यो छाउरो जन्मदै अपाङ्ग भएको र एउटा खुट्टा पूरै विकसित नभएको बतायो । केटोेले आश्चर्य मान्दै फेरी सोध्यो, ‘तपाईँ त्यो छाउरोलाई के गर्नुहुन्छ ?’ पसलेले त्यो छाउरोलाई केही समयपछि लामो निन्दामा सुताइदिने बतायो । केटोले त्यो छाउरोसँग एकछिन खेल्नका लागि अनुमति माग्यो र एकैछिनको हिमचिम पछि त्यो छाउरो किन्ने निर्णय गर्यो । पसलेले त्यो छाउरो बिक्रीका लागि नभएको बतायो । तर केटोले आफूले त्यही छाउरो किन्ने ढिपी गर्यो ।

केटोको ढिपीले गर्दा पसले छाउरो बेच्न राजी भयो । केटोले पसलेलाई दुई डलर दियो । बाँकी ४८ डलर लिन आमा भएको ठाउँतिर डौडियो । पसलेले उसलाई भन्यो, ‘तिमी किन त्यो कुकुरलाई किन्न चाहिरहेका छौं मैले बुझ्न सकिने जबकि त्यही नै पैसामा राम्रो छाउरो पाउँछौ । केटोले पसलेलाई केही पनि भनेन् । उसले आफूले लगाएको पाइन्ट उचाल्यो र आफ्नो नक्कली खुट्टा देखाइदियो । उ अपाङ्ग रहेछ । पसलेले भन्यो, ‘ठिक छ, त्यही छाउरो लग ।’

यसलाई भनिन्छ सहानुभुति । जब तपाईँ दुःख बाढ्नुहुन्छ, यो कम हुन्छ, जसै सुख बाढ्नुहुन्छ यो अझै बढ्छ ।