बिमलको कमाल ! मालिक बन्ने सपनाले जन्मियो अस्पार्क

सोमबार, ८ मंसिर २०७७

‌काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वनै आक्रान्त छ । व्यापार व्यवसाय चौपट छ भने विश्वभरका शैक्षिक संस्थाहरुपनि नराम्ररी प्रभावित भएका छन । अझ भनौं अब्रोड स्टडि गर्ने र यसको सहजिकरण गर्नेहरुलाई कोभिडले ठूलो असर पारेको छ । गुणस्तरिय शिक्षाको अवसर पर्याप्त नभएका नेपालजस्ता देशहरुका लागि विदेशमा अध्ययन गर्नु अपरिहार्य र अनिवार्य आबस्यकता जस्तै भएको छ । सोही कारण नेपाली विद्यार्थीहरु कोभिडका कारण उच्च अध्ययन गर्ने अवसरबाट बन्चित भएका छन् ।

विदेश अध्ययन गर्नका लागि समन्वय गर्दै आएका शैक्षिक परामर्श केन्द्रहरु पनि विद्यार्थीहरु जस्तै प्रभावित भएका छन । यसमध्येको एक हो पुतलीसडकमा रहेको अस्पार्क एजुकेसन नेटवर्क । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थायी घर भएका बिमल मान राजभण्डारीले स्थापना गरेको यो कन्सल्टेन्सी ८ बर्ष पुगिसकेको छ ।

गाउँमा एसएलसी सम्मको अध्ययन सकेपछि पढ्न भनेर सहर छिरेका राजभण्डारी +२ पढ्नका लागि चाबहिलमा रहेको पशुपति मल्टिपल क्याम्पस भर्ना भए । पढ्दै गर्दा कतै काम गर्न पाए पनि हुन्थ्यो भन्ने सोच पालेका उनी विशेष सिप नभएका कारण अलमलमा थिए । विशेष अनुभव र दक्ष सिप नभएका कारण उनको त्यो सोच पूरा हुन सकेन। त्यसको दुई बर्षपछि एकजना चिनेजानेको दाइले काम लगाइदिने भन्दै काठमाडौं प्लाजामा रहेको ‘द इन्ट्रिग्रेटेड अस्ट्रेलियन इमिग्रेसन’ पुर्याए । कामको मौका नदिइ व्यक्तिसँग अनुभव हुन सक्दैन भन्ने कुरा बुझेका यसका संचालकले बिमललाई डकुमेन्टेसन अफिसरमा नियुक्ती दिए । स्नातकतह पढ्दै गर्दा उनले जागीर सुरु गरेका थिए ।

‘‌त्यो क्षेत्रमै केही थाहा नपाएको एउटा केटो त्यसमा पनि कम्प्युटरको शून्य ज्ञान।’ ती दिन सम्झिदै उनी भन्छन्, ‘मैले त्यहाँ काम सुरु गर्दा टाइप कसरी गर्नेसमेत जानेको थिइनँ, डकुमेन्टहरु केके चाहिन्छ र कसरी मिलाउने त झन थाहा हुने कुरै भएन ।’ तर उनीसँग एउटा आँट के थियो भने प्रयास गर्दा हरेक कुरा सिक्न सकिन्छ।

डकुमेन्ट मिलाउन आफूभन्दा सिनियरसँग सिक्दै उनले काम गर्न थाले । कम्प्युटरसमेत उनले त्यही सिके ।एकछिन फुर्सद हुँदा पनि उनी टाइप गर्न सुरु गर्थे। त्यतिबेला हस्तलिखित फर्महरु भरेर डकुमेन्ट तयार पार्ने चलन हुँदा केहिहदसम्म उनलाई सजिलो भयो । करिब १ बर्ष काम गर्दा बिमलले कम्प्युटरको सबै ज्ञान प्राप्त गरी कन्सल्टेन्सीलाई हस्तलिखितबाट डिजिटल बनाए। त्यसको १ बर्षपछि बिमलको मेहनत र प्रगति देखेर कन्सल्टेन्सीले उनलाई व्यवस्थापक पदमा बढुवा गरिदियो ।

कुनै पनि हालतमा आफ्नै अफिस खोलेर काम गर्छु भन्ने सोच भएका बिमललाई त्यो व्यवस्थापकको पद एउटा सुनौलो मौका सावित भयो। उनले त्यहाँ रहेर कन्सल्टेन्सीका अन्य कामहरु पिआरको प्रोसेस, अनलाइन क्लास र स्टाफ व्यवस्थापनको व्यवहारिक ज्ञान हासिल गरे। आफ्ना दाजुसँग मैतिदेबीमा बस्ने उनी घरबाट चामल तरकारी ल्याएर बाँचेको सम्झिन्छन् । जागीर खाए पनि न्यून तलब हुँदा त्यसो गर्नुपरेको उनको भनाइ छ। अलिअलि पकेट खर्च त्यतिबेला बाटै बचाएर उनले आफ्नो उद्यमी बन्ने सोचको बिकास गरेका थिए ।

यसरि करिब ५/६ बर्ष विताएपछि उनले आफ्नै काम गर्ने सोचलाई मुर्त रुप दिने समय आएको ठाँने । अनि एकजना यस्तै सोच भएका साथीसँग मिलेर साझेदारी व्यवसायका रुपमा २०१२ मा सुरु भयो अस्पार्क एजुकेसन नेटवर्क । यसरी ग्राउन्ड लेभलबाट जानेर, बुझेर, अनुभव गरेर सुरु गरेकाले यो व्यवसायमा आफू सफल भएको बिमल बताउँछन् ।

यो क्षेत्रमा मौलाएको विकृतिले कहिलेकाँही बिमललाई निराश बनाउछ। ‘सबैले त्यस्तो गर्छन् भन्ने होइन तर केही साथिहरुको बदमासीले पुरा कन्सल्टेन्सी सेवानै बदनाम भएको छ’ उनले भने, ‘अस्ट्रेलियामा वर्किङ भिसा भनेर प्रचार गर्ने, झुठा आश्वासन र प्रलोभन दिएर विद्यार्थी आर्कषित गरेर फसाउनाले विभिन्न समस्या आउने गरेको उनको बुझाइ छ। ‘यस्तो अबस्थामा विद्यार्थी फसेमा रिफण्ड गर्न पनि गाह्रो हुने र उसको भविश्यनै संकटमा पर्न सक्छ’, मोटिभेट न्यूजसँगको कुराकानीमा उनले भने, ‘हाम्रो तर्फबाट त्यस्तो हुन्न । जे हो त्यही सूचना विद्यार्थीलाई दिन्छौं ।’

‘म मध्यम बर्गिय किसान परिवारबाट आएको मान्छे, गाउँमा अझै पनि खेतीपाती भइरहेकै छ, त्यसरी अरुलाई बर्बाद पारेर खानु भन्दा बरु गाउँनै फर्किएर खेतीपाती गर्छु । तर विद्यार्थीलाई गलत सजेसन दिन्न’, उनी अगाडि भन्छन, ‘हामीले गलत काम कहिल्यै गरेका छैनौं र भबिस्यमा पनि गर्दैनौं ।’

गलत गर्ने मान्छेहरु गलत सोचले नै यो पेशामा आउने बिमल बताउँछन् । उनको बुझाईमा यो क्षेत्रमा कमाउन धेरै गाह्रो छ, एकैचोटी करोड कमाउछु भनेर सोच राखेर आएकाहरु निरास हुन्छन् अनि गलत काम गर्न पुग्छन् । उनका अनुसार एउटा विद्यार्थी कुनै देश गएर पढ्न थालेपछि मात्रै त्यहि ‘फि’ बाट यहाँका कन्सल्टेन्सीहरुले निश्चित प्रतिशत रकम पाउछन् । यो व्यवसायमा आउँदा ‘उडि छुनु चन्द्र एक’ भन्दा पनि बिस्तारै हिडेर इमानदारितापूर्वक लक्ष्य भेट्ने सोच राख्नुपर्ने राजभण्डारीको बुझाई छ ।

व्यवसायका अलवा उनी समाजसेवामा पनि सक्रिय छन् । विश्वभर फैलिएको स्वयंसेवी संस्था लायन्स क्लबका सदस्य उनी लायन्स अन्तर्गत ‘लायन्स क्लब अफ काठमाडौं डिमल्याण्ड’ का बर्ष २०२०/२१ का अध्यक्ष हुन् । आफू बाचौ र अरुलाई पनि बचाउँ भन्ने उदेश्यले समाजसेवामा लागेका उनी यसलाई जीवनको सबैभन्दा ठूलो उपलब्धी मान्छन । धुर्मुस सुन्तलीको उदाहरण दिदै उनी भन्छन्, ‘मान्छे मरेर गएपनि समाजमा उसले गरेको पुण्यका काम कहिल्यै मर्दैन।’ उनी मानव भएपछि कम्तिमा सहयोगको भावना हुनुपर्ने बताउछन् ।

कोरोनाको कहरले विश्व आक्रान्त भएको बेला आफूहरुको व्यवसाय झन धोस्त भएको बिमलको बुझाइ छ। भाडा तिर्नसमेत धौधौ परेको यो अबस्थामा स्टाफलाई बिदा दिएर खर्च व्यवस्थापन गरेको बताउँदै व्यवसायीलाई बचाउन सरकारले ठोस योजना ल्याउनुपर्ने उनको माग छ । विद्यार्थीले तिर्ने ‘फि’ को २ प्रतिशत कर लिने तर उनीहरु समस्यामा पर्दा कन्सल्टेन्सीलाई मात्रै दोष दिने सरकारी प्रवृतिले नेपाली विद्यार्थी समस्यामा पर्ने गरेका छन । नेपाली विद्यार्थीहरुलाई समस्या पर्दा आफ्ना नागरिक प्रतिको उत्तरदायित्व सरकारले बहन गरोस भन्ने उनको चाहाना छ ।