भारतबाट बिजुली ल्याउने तयारी
काठमाडौं – आगामी हिउँद र सुक्खायामका लागि नेपाल विद्युत् प्राधिकरणले ४५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ। वर्षायामभन्दा हिउँदमा बिजुलीको आन्तरिक उत्पादन घट्ने भएकाले माग पूरा गर्न भारतबाट ४५० मेगावाट बिजुली आयात गर्न लागिएको हो।
बिजुलीको माग पूरा गर्न प्राधिकरणले मुजफ्फरपुर–ढल्केवर प्रसारण लाइनमार्फत यो वर्ष २५० मेगावाट बिजुली आयात गर्ने तयारी गरेको छ। उक्त प्रसारण लाइनमार्फत बिजुली आयातका लागि भारतसँग सहमतिसमेत भइसकेको प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाले जानकारी दिए।
तिमिल्सिनाका अनुसार मुजफ्फरपुर–ढल्केवर प्रसारण लाइनमार्फत बिजुली ल्याउन गत सातामात्रै उक्त प्रसारण लाइन चार्ज गरिएको थियो। चार्ज गरिएको उक्त प्रसारण लाइनको ४०० केभीमा भारतबाट बिजुली प्रवाहसमेत भइसकेको छ। ‘२५० मेगावाटमध्ये केही २४ घण्टा लिनुपर्ने र केही आवश्यक पर्दा मात्र लिने गरी सहमति भएको हो’, तिमिल्सिनाले भने। उनका अनुसार यो प्रसारण लाइनमार्फत बिजुली लिने सहमति डिसेम्बरदेखि आगामी सन् २०२१ को जुनसम्मलाई मान्य हुनेछ।
अपुग हुने थप बिजुली अन्य अन्तरदेशीय प्रसारण लाइन कुशाहा–कटैयाबाट करिब १०० मेगावाट, रक्सौलबाट ५० र टनकपुरबाट ५० देखि ७० मेगावाटसम्म आयात गर्ने तयारी पनि प्राधिकरणले गरिसकेको छ।
हिउँद तथा सुक्खायाम फागुनदेखि वैशाख ० मा जडित क्षमताभन्दा कम मात्रामा बिजुली उत्पादन हुने भएकाले माग पूर्तिका लागि भारतबाट बिजुली आयात हुन्छ। सरकारीभन्दा निजी प्रवद्र्धकका बिजुली बगेको खोला ९रन अफ रिभर० मा निर्भर भएकाले जाडोयाममा पानीको बहाव कमीसँगै उत्पादनमा कमी आउने गर्छ।
‘पिक आवरमा अत्यधिक खपत हुने बिजुलीमध्ये केही भारतबाट आयातित बिजुली पनि हो’, तिमिल्सिनाले भने। वर्षायाममा मागभन्दा उत्पादन बढी भएर विद्युत् खेर जाने अवस्था र सुक्खायाममा उत्पादन घटेर मागअनुसार उत्पादन नहुँदा भारतबाट महँगोमा विद्युत् खरिदको विकल्प हुँदैन।