दृढ इच्छाशक्तीले आचार्यलाई दिलाएको सफलता
काठमाडौं – राष्ट्रकवि स्वः माधव प्रसाद घिमिरेले कुनै सन्दर्भमा लेखेका छन्, ‘ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन बिफल ।’ फरक सन्दर्भमा लेखिएको भएपनि इन्द्रावती गाउँपालिका १० सिन्धुपाल्चोकका छन्दप्रसाद आचार्यको जीवनमा यी लाइनहरु मेल खान्छन् । वकालत र शिक्षण पेशामा आवद्ध आचार्य यी पेशामा प्रबेश गर्नुअघि चुनौतीको ठुलो ढुङ्गे पहाड उनका अगाडी खडा थियो। त्यो पहाडलाई फोडेर उनले कसरी पिपलको बेर्ना हुर्काए ? आज हामी उनको जीवन संघर्ष र सफलताको कथा यहाँहरुको माँझमा प्रस्तुत गर्दैछौं ।
तत्कालीन भोटसिपा गाबिसमा कक्षा सातभन्दा माथि पढ्ने व्यवस्था थिएन। इन्द्रावती तरेर अन्त टाढा जान १२ बर्षको सानो केटोलाइ सम्भव नहुने भएपछि परिवारले उनलाई पढ्न भनी काठमाडौं पठायो। गाउँबाट दाल, चामल, तरकारीहरु ल्याएर उनी पढ्थे । माध्यमिक तह र पछिका सबै कक्षा उनले काठमाडौंबाटै पूरा गरे। पढाईमा सानैदेखि सौखिन उनी सधैं अध्ययनशिल रहे। कानुनमा स्नातक, समाजशास्त्रमा स्नातकोत्तर र पब्लीक एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका आचार्य आफू अझै पढ्ने गरेको सुनाउछन् ।
गाउँमा कक्षा ७ मा आफूलाई पढाएका बिदुर प्रसाद सापकोटालाई आफ्नो कानुन अध्ययन र सफलताको गुरु मान्छन् उनी । ‘बिदुर सरले म कक्षा ७ पढ्दै गर्दा नै म कानुन पढ्दै छु भन्नुभयो, जस्ले गर्दा मलाइ नि मेरो सर कानुन पढ्नुहुन्छ भने म पनि पढ्छु भन्ने सोच आयो’ उनी भन्छन्, ‘त्यहि कारण काठमाडौं आएर पनि कानुन पढ्नजति रुची अरु केहिमा भएन। एसएलसीको अध्ययन सकेपपछि उनलाई धेरै जनाले कमर्स पढ्न सुझाए। परिवारले उनलाई चाबहिलमा रहेको पशुपति मल्टिपल क्याम्पस भर्ना गरिदियो। त्यहाँ आइएल पढाइ भइरहेको थाहा पाएपछि उनले कानुनकै कक्षा पढ्न थाले। पछि त्यहाँ छोडेर कानुन पढ्नकै लागि नेपाल ल क्याम्पस भर्ना भए।
सायद त्यो समय मदन भण्डारीको दुःखद दुर्घटना भएको बेला थियो होला नेपाल ल क्याम्पसमा विद्यार्थी संगठनहरुको झै झगडा भइरहेको थियो । त्यो झगडामा परि नेपाल बार एसोसिएसनका पूर्बअध्यक्ष टिकाराम भट्टराई र उनी घाइते भए। हाल सर्बोच्च अदालतका न्यायाधिश हरि फुयालले वीर अस्पताल पुर्याए र ट्याक्सि चढाएर घर पठाए। त्यो ठिक भएपछि उनको परिवारले पुनः कानुन नपढ्न सुझाव दियो। ‘त्यस्तो टाउको फुट्ने, झै झगडा हुने क्याम्पसमा नि कोहि पढ्छ भनेर फेरि पशुपति पढ् भनियो तर मानिन’ उनी भन्छन्, ‘काकाहरुले समेत त्यतिबेला सरस्वती क्याम्पसमा आइकम भर्ना गरिदिन्छु भन्नुभयो, म भने कसैको कुरा नसुनी कानुनमै निरन्तरता दिइरहेँ ।’
बिएल पढ्दै गर्दा अहिलेका बरिस्ठ अधिबक्ता नेत्र ध्व्ज कार्कीको ल फर्ममा काम गर्न थालेका उनी ०५४/०५५ मा माओवादीले सुरु गरेको द्वन्दका कारण मुद्धा कम आउन थालेपछि अरु पनि केही गर्नुपर्छ भनेर शिक्षाक्षेत्र तर्फ होमिए। आफै फाउन्डर प्रिन्सिपल रहने गरि कपनमा नमुनादिप स्कूल सुरु गरे जुन २०६५ सालमा नाम परिवर्तन भइ हाल पुष्पलाल मेमोरियल स्कुलको नामले परिचित छ। हाल उनी उक्त स्कुलको अध्यक्ष र चाबहिलमा रहेको पुष्पलाल मेमोरियल कलेजको ब्यबस्थापन समिती अध्यक्ष छन् । त्यस्तै बानेश्वर थापागाउँमा उनको ल कन्सल्ट नेपाल नामक ल फर्म छ।
कानुनी क्षेत्रमा होस् या शैक्षिक क्षेत्र कुनैपनी चुनौतीमुक्त नभएको उनको भनाइ छ। उनका अनुसार कानुन एउटा मात्र त्यस्तो क्षेत्र हो जहाँ म जान्दिन भन्ने छुट छैन। त्यसो हुँदा यो क्षेत्रमा लाग्नेहरु निरन्तर अध्ययनशिल हुनुपर्छ । ‘विश्वमा दैनिक नयाँ नयाँ घटनाक्रमहरु विकास भइरहन्छ, ती घटनाक्रमहरुले सबैलाई प्रभाव पार्छन् कसैलाई फाइदा हुन्छ त कसैलाई असर, त्यहि असर पर्नेहरु हामी कहाँ आउँछन् त्यसबाट मुक्त हुनका लागि’ उनी अगाडि भन्छन्, ‘त्यस पछि हामीले बिगतका अदालती फैसला र नजिरहरु के छन् भनेर अध्ययन गर्नुपर्छ ।’ त्यसका अलवा केसनै नपाउने, पाइहाले पनि क्लाइन्टको विश्वास जित्न गाह्रो हुने आदी थप चुनौती छन् । यी चुनौतीहरुको कुरा गर्दा उनी बिएल सकेर एड्भोकेट तालिम लिदा प्रशिक्षकले भनेको एउटा कुरा सधै सम्झिन्छन् । त्यतीबेला प्रशिक्षकले भनेका थिए ‘कानुन पढेर सकाउनु भन्दा पनि लाइसेन्स लिएपछि यो पेशा टिकाउन गार्हो छ ।’ यसरि साच्चै पेशामा टिक्न गार्हो भएर धेरै साथीहरू बिदेशिएका वा पलायन भएर अन्य सहज पेशा छ्नोट गरेको उनी सुनाउछन् । तर आफूभने सानैदेखि चुनौतीपूर्ण काम स्वीकार गर्ने प्रकृतीको भएकाले यसमै रमाइरहेको उनको भनाइ छ। यसरी चुनौतीपूर्ण काममा रमाउदा त्यसैलाई अबसर को रुपमा उनी लिन्छन् ।
शिक्षा क्षेत्रमा पनि यस्ता चुनौती थुप्रै छन् । विद्यार्थी जम्मा गर्न गार्हो हुने, स्रोतसाधन र पुर्बाधार जुटाउन गार्हो हुने मात्रै नभइ गुणस्तरिय शिक्षा दिने र प्रबिधिलाई पनि सँगै लान सक्ने शिक्षक खोज्नुपनि चुनौतीपूर्ण छ। अझ अहिलेको समयमा त कोरोनाको कारणले यो क्षेत्र तहसनहस भएको उनको बुझाइ छ। बाचियो भने बरु अर्को साल पढौला भन्ने धारणा छ, विद्यार्थीले सहज रुपमा सिक्ने वातावरण छैन । त्यसैले यो क्षेत्रको भविश्य नै अन्योलमा परेको छ। कानुनी क्षेत्रमा पनि कोरोनाको असर नराम्रोसँग परेको छ। ‘कोभिडकै कारण मुद्दा दैनिक नहेरिने, ५ वटाको ठाँउमा २ ओटा मात्र हेरिने वा अदालत प्रवेश पनि सहज हिसाबले गर्न नपाइने समस्या छ’ मोटिभेट न्युजसँगको कुराकानीमा उनी अगाडि भन्छन्, ‘काम गर्दा र कतै निस्किदा पनि केही भइहाल्ने होकी भन्ने चिन्ता छ ढुक्क हुने अबस्था कतै छैन।’
कानुन र शिक्षाकर्मीका अलवा आचार्य सहकारीकर्मी पनि हुन् । उनी ३/४ वटा सहकारीमा प्रत्यक्ष परोक्ष संगलग्न छन् । बुढानिलकण्ठ समस्याग्रस्त सहकारी समाधान बोर्डका सदस्य पनि हुन् उनी। यसका अलवा उनी समाजसेवामा अझै बढी क्रियाशिल छन् । सानैदेखि सहयोगी भावनाका उनी केही एन्जीओहरुमा संलग्न हुनुका साथै रोटरी क्लब अफ भादगाउँका बर्ष २०१८/१९ का अध्यक्ष हुन् । यस संस्थाको चार्टर मेम्बर हुँदै अध्यक्ष भएका उनी यो संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रममा भाग लिन कोरिया, थाइल्यान्ड, र युरोपका विभिन्न देश पुगेका छन् ।

समग्र मानब जातीको हित र व्यवसायीक सफलताको लागि सघाउने, अफ्ट्यारोमा परेकालाई मदत गर्ने र प्राकृतिक प्रकोपले मानव जातीलाई दिएको घाउमा थोरै भएपनि मलम पट्टी लगाउने काम गरेको रोटरी भादगाउँले सिन्धुपाल्चोकमा केही महिना अघि गएको भीषण पहिरोमा परेकाहरुलाई सहयोग गर्न क्लबका चार्टर प्रेसिडेन्ट सहितको टोली तत्काल पुगेको उनले बताए। आचार्य रोटरी अन्तर्गत डिस्ट्रीक्ट ३२९२ को न्यु क्लब जेनेरेसन कमिटी मेम्बर पनि हुन् ।
युवाहरुलाई समाज र राष्ट्र परिवर्तनको एउटा शक्ति मान्ने आचार्य उनीहरुलाई इमान्दारिताका साथ दाइत्व निर्बाह गर्न सल्लाह दिन्छन् । अबसर पाइएन भन्नू भन्दा पनि प्रविधिको समुचित प्रयोग गरि आफै अबसर सिर्जना गर्नतिर लागे अबस्य सफल भइने भन्दै उनी त्यसतर्फ केन्द्रीत हुन सबै युबाहरुलाई आग्रह गर्छन् ।
