प्रचण्ड–नेपाल समूहको छुट्टै भेला, ओलीलाई झट्का
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेलामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेता माधव कुमार नेपाल समूहको छुट्टै बैठक बसेको छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालनिकट केन्द्रीय सदस्यहरुले सुनसरीको इटहरीमा छुट्टै भेला आयोजना गरेका हुन्।
प्रदेश १ स्तरीय भेलाका रुपमा आयोजना गरिएको उक्त भेलामा केन्द्रीय नेताको सहभागितामा सम्पन्न भएको थियो । केही समय अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका प्रदेशस्तरीय नेता कार्यकर्ताहरूसँग भर्चुअल छलफल आयोजना गरेका थिए। ओलीको छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसमेत सहभागी भएका थिए।
सुनसरीमा गोप्य रुपमा आयोजना गरिएको भेलामा भूगोलका इन्चार्ज र सह–इन्चार्जसहित प्रदेशका नेता कार्यकर्ता सहभागी थिए। इटहरीको साथी पेट्रोल पम्पअगाडिको इटहरी ब्यांक्वेटमा भेला भएका नेता कार्यकर्ताले पार्टीमा उत्पन्न समस्याको विश्लेषण गर्दै प्रधानमन्त्री केपी ओलीका पछिल्ला गतिविधिको विषयमा समेत छलफल भएको जानकारी प्राप्त भएको छ।
प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा आफ्नो समूहको मात्र सहभागीता गराएर गरेको छलफललाई काउन्टर दिने गरी प्रचण्ड–नेपाल समूहले भौतिक रुपममा सहभागीता गराएरै भेला आयोजना गरेको हो। छलफलमा प्रचण्डनिकट पूर्वमन्त्री तथा नेकपा केन्द्रीय सदस्य शिवकुमार मण्डल प्रमुख अतिथि रहेका थिए।