उद्योग वाणिज्य महासंघको निर्वाचन आज, कसको पल्ला भारी ?
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत आज नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ ।
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा यो पद अहिले सर्वाधिक महत्वपूर्ण हो ।
महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव हुन लागेको हो ।
मतदान बिहान आठ बजेदेखि सुरु गर्ने तयारी छ । महासंघको मतदानका लागि तीन स्थान तय गरिएको छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुने महासंघको सचिवालयले जनाएको छ ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा जिल्ला–नगर समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।
निर्णायक भुमिका खेल्ने जिल्ला नगरका अधिकांश प्रतिनिधिहरुले बरिष्ठ उपाध्यक्षका उमेद्वार किशोर प्रधानलाई समर्थन गरेका छन् । १०७ जना प्रतिनिधिमध्ये ७५ जना जिल्ला नगर अध्यक्षहरुले किशोर प्रधानको पक्षमा भोट माग्दै हिडेपछि किशोर प्रधानले चुनाव जित्ने चर्चा उद्योगी व्यवसायीमा हुन थालेको छ ।