महासंघको मतदान सकियो, केही बेरमै मतगणना

शनिबार, १३ मंसिर २०७७

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । शनिबार विहान ८ बजेबाट सुरु भएको मतदान चार बजे सकिएको हो ।

मतदान सकिएपछि निर्वाचन अधिकृत र उम्मेदवारको रोहवरमा मतपेटिका सिलबन्दी गरेर नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याइएको छ। प्रज्ञा प्रतिष्ठानमै मतगणना हुनेछ।

निर्वाचन अधिकृतका अनुसार शतप्रतिशत मत खसेको छ।कोभिड संक्रमणका कारण तीन स्थानमा मतदानका लागि छुट्याइएको थियो। प्रज्ञा प्रतिष्ठानमा जिल्ला–नगर, बबरमहल कार्की ब्यांकेटमा एशोसिएट र महासंघको सचिवालय टेकुमा बस्तुगतको मतदान केन्द्र बनाइएको थियो। सबैभन्दा पहिला जिल्ला–नगरको मतदान सकिएको थियो।

वस्तुगतको मतदान सकिएपछि महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष कुशकुमार जोशी, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठ र वस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले एशोसिएट तर्फको मतदान अन्तिम तिर गरेका थिए।

जिल्लारनगरमा १०५, एशोसिएटमा ९ सय ४ र वस्तुगत १ सय १ मत खसेको छ।