महासंघ मतगणना अपडेट : चन्द्र ढकाललाई झट्का, ४ प्रदेशमा प्रधान प्यानल विजयी

शनिबार, १३ मंसिर २०७७

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको ताजा मतपरिणाम सार्वजनिक भएको छ । साँझ ६ बजेदेखि सुरु भएको मतगणना अनुसार ४ ओटा प्रदेशका बरिष्ठ उपाध्यक्षका उमेद्वार किशोर प्रधान प्यानलका उमेद्वार विजयी भएका छन ।

प्रदेश २, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा प्रधान प्यानलका उमेद्वार निर्वाचित भएका हुन भने लुम्बीनी प्रदेशमा ढकाल प्यानलका उमेद्वार निर्वाचित भएका छन् ।

पछिल्लो मतपरिणामअनुसार प्रदेशतर्फको केन्द्रिय कार्यकारिणी सदस्यमा प्रदेश २ बाट विजयकुमार शाह निर्वाचित भएका छन्। उनले १२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै पनि मत प्राप्त गर्न सकेनन्।

त्यस्तै लुम्बिनीबाट जम्सेर मियाँले १० मत सहित चुनाव जितेका छन्। महासंघमा मुस्लिम समुदायबाट पहिलो पटक केन्द्रिय सदस्य बन्न सफल भएका मियाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी हेमराज बन्जाडेलाई एक मतले पछाडी पारेका हुन्।

त्यस्तै गण्डकी प्रदेशबाट ९ मत ल्याएर बाबुराम गिरी केन्द्रिय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्। गिरीले आफ्ना निकटम प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठलाई ३ मतले पराजित गरेका हुन्।

कर्णाली प्रदेशबाट लालिमान बुढाले ७ मत ल्याएर जितेका छन्। उनले आफ्ना निकटम् प्रतिद्वन्द्वी प्रकास अधिकारीलाई ४ मतले पराजित गरेका हुन्।

त्यस्तै सुदुरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायलाई ६ मतले पराजित गरेका छन्।

प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भइसकेका छन् । वागमती प्रदेशको मतगणना हुन बाँकी छ ।

केन्द्रिय कार्यकारिणी सदस्य पदमा निर्वाचित भएकाहरुमा प्रदेश २ का शाह, गण्डकी प्रदेशका गिरि, कर्णाली प्रदेशका बुढा र सुदुरपश्तिम प्रदेशका कुमार किशोर प्रधानका समुहका हुन् भने प्रदेश ५ बाट निर्वाचित भएका जम्सेर मियाँ ढकाल समुहका हुन् ।