काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री

आइतबार, १४ मंसिर २०७७

काठमाडौं – चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे काठमाडौं आइपुगेका छन्। उनी विशेष विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन्।

२१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका वेइले नेपालमा ८ घण्टा समय बिताउने छन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि द्विपक्षीय भेटवार्ता गर्नेछन्। उनी आजै साँझ स्वदेश फर्किने कार्यतालिका छ। नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो। यो भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ। गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको दुई दिने भ्रमण गरेका थिए।